झापा : पाँचौँ संस्करणको झापा गोल्डकपको दोस्रो सेमिफाइनल प्रवेश गर्ने होडमा थ्रीस्टार र सङ्कटा आमनेसामने हुँदैछन् । पुलिस माथि जित निकाल्दै सङ्कटाले आफूलाई अब्बल प्रमाणित गरिसकेको छ। अर्को तर्फ जारी प्रतियोगितामा थ्रीस्टार पहिलो पटक मैदान उत्रदैछ ।
दुवै टोली जित निकाल्दै उपाधिको दाबेदारको रूपमा रहन चाहन्छन् । झापाली मैदानमा सङ्कटाको पहिलो सहभागिता हो । डोमलाल राजवंशी रङ्गशालामा थ्रीस्टार चौथो पटक सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । यसअघिको पहिलो, तेस्रो र चौथो संस्करणमा थ्रीस्टारले सेमिफाइनल खेलेको थियो । उता सङ्कटा झापाली मैदानमा थ्रीस्टार विरुद्ध जित निकाल्दै सहिद स्मारक लिगको पराजयको बदला लिन चाहन्छ । लिगमा थ्रीस्टार विरुद्ध सङ्कटा १-० ले पराजित बनेको थियो ।
थ्रीस्टारले छैटौँ स्थानमा रहँदै लिग समाप्त गर्दा सङ्कटा सातौँ स्थानमा रहेको थियो । सङ्कटा सँग १ भारतीय सहित ३ अफ्रिकी खेलाडी हुनेछन् । उता थ्रीस्टार युवा खेलाडीको साथमा क्यामरुनी र आइलिगको अनुभव बटुलेका अन्सुमान क्रोमाह समेत हुन सक्छन् । जसले लिगमा सङ्कटालाई हराउन निर्णायक गोल गरेका थिए । थ्रीस्टारका गोलरक्षक प्रिसो लिगमा सर्वाधिक क्लिनसिट राख्नेको सुचीमा दोस्रो स्थानमा छन् । उनले १३ खेलमा कुल ११७० मिनेट बिताउँदा ६ क्लिनसिट राखेका छन् र ४४ प्रहार बचाएका छन् । गोल स्कोरिङमा सङ्कटाका भारतीय खेलाडी उत्तम राई माहिर मानिन्छन् । पुलिस विरुद्ध उनले नै निर्णायक गोल गरेका थिए ।