झापा : विभागीय टोली एपिएफलाई हराउँदै सातदोबाटो यूथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफलाई २-१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । 

सातदोबाटोको जितमा सुशील राई र नीरज चौधरीले गोल गरे । एफिएफका दीपेश धिमालले सान्त्वना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको अन्तिम समयमा तीन वटै गोल सम्भव बन्यो । खेलको ८२ औ मिनेटमा सुशीलले सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए । ८५ औ मिनेटमा नीरजले गोल गरेपछि सातदोबाटोले २-० को अग्रता बनाउन सफल रह्यो । इन्जुरी समयमा एपिएफका दीपेशले गोल फर्काए पनि हार टार्न सकेनन् । 
खेलमा दुवै टिमले केही राम्रा मुभहरु बनाए पनि गोलमा परिणत गर्न सकेनन् ।  खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्स भित्र पाएको बल प्रहार गर्न सकेनन् । १३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रस एपिएफका जापानी गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।
४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । 
मङ्गलवारको दोस्रो क्वाटरफाइनल खेल सङ्कटा क्लब र थ्री स्टार क्लबबिच खेल हुनेछ । नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै सङ्कटा क्वाटरफाइनल प्रवेश गरेको थियो । १० टिम सहभागी प्रतियोगितामा थ्रीस्टारले सोझै अन्तिम ८ मा स्थान बनाएको थियो । 
jhapa-goldcup-day-2-man-of-