झापा : थ्रीस्टार क्लब पहिलो पटक झापा गोल्डकपको सेमिफाइनल प्रवेश गर्नबाट वञ्चित भएको छ। पाँचौँ संस्करणको प्रतियोगिताको क्वाटरफाइनल खेलमा सङ्कटा क्लबसँग २-० ले पराजित भएसँगै थ्रीस्टारको सेमिफाइनल खेल्ने सपना अधुरो रहेको हो । यसअघि सहभागिता जनाएको तीन वटा संस्करणमा थ्रीस्टारले क्वाटरफाइनल चरण पार गरेको थियो । सङ्कटा पहिलो पटक झापा गोल्डकप खेल्न आएको हो ।
सङ्कटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा फोफोनाको क्रस पासमा थ्रीस्टारको डिफेन्डर र गोलरक्षक बिचको तालमेलको नमिलेको फाइदा उठाउँदै यानिकले सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अग्रता दोब्बर बनाए ।  खेलमा दुवै टोलीले केही राम्रा अवसरहरूलाई गोलमा परिणत गर्न सकेनन्। खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए । खेलको ३६ औँ मिनेटमा सङ्कटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।
४६ औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको ७० औँ मिनेटमा सङ्कटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे । ७५ औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए । मङ्गलवारको खेलको प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्री स्टारका प्रशिक्षक रवीन्द्र शिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए ।
त्यस्तै, विजयी टोली सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले सङ्कटाले पहिलो हाफमा गरेको गोल नै 'टर्निङ प्वाइन्ट' भएको बताए ।
बुधवारको क्वाटर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबिच हुनेछ ।  आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरू महिलाहरू मात्र थिए ।