रंगेली : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसकेको बताएका छन् । 

एमाले मोरङले रंगेलीमा बुधवार आयोजना गरेको तराई मधेस केन्द्रित जनसभामा उनले काँग्रेसको नेतृत्व गरेको समयमा कुनै काम गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले काँग्रेसको पात मात्रै हैन रूख नै सुकेको बताए । 

निर्वाचन  आयोगले मतपत्र हरियो रङमा छाप्ने निर्णयको अध्यक्ष ओलीले विरोध गरे । उनले भने, निर्वाचन आयोग काँग्रेस तिर झुक्यो, यो मान्य छैन ।

अध्यक्ष ओलीले एमालेलाई अहिले हाइसन्चो भएको बताए । एमाले चोइटिए पनि कुनै असर नभएको उनले दाबी गरे । उनले भने, पिलो निचोरिएको जस्तो भएको छ । आकर्षण बढ्दै गएको छ । अध्यक्ष ओलीले माआवोदी पार्टी नभएर अन्योलको पोको भएको बताए । उनले माओवादी पार्टी नै नभएकाले  नअल्मलि एमालेमा आउन आग्रह गरे । 

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दिलीपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर र वडाध्यक्षहरू नेकपा (माओवादी केन्द्र)बाट विजयी बनेका थिए ।  मेयर बगडिया र उपमेयर खराल सहितलाई एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले पार्टी प्रवेश गराएका हुन् । 

बगडिया लगायतका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउनकै लागि एमालेले रंगेलीमा वृहत् जनसभाको आयोजना गरेको हो । विभिन्न दल परित्याग गरेका ४ हजार ७ सय १० जनालाई पार्टीमा प्रवेश गराइएको एमालेले जनाएको छ ।

KP-oli-1 1