धरान : सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने १४ जना मध्ये १० जनाको सनाखत भएको छ। 

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मादी नगरपालिका ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटवाल, सोही नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४५ को दीपक दाहाल, मादी ६ का  वर्ष ३८ को इन्द्र बहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ को उमेश भट्टराई (सहचालक), मादी ४ बस्ने वर्ष ३८ को आइत बहादुर तामाङ, मादी ४ बस्ने वर्ष ३५ कि सबिता राउत कार्की, मादी ५ बस्ने वर्ष ५०/५२ को श्याम शेर्पा, मादी ५ बस्ने वर्ष ५५ को भवानी दाहाल, मादी ६ बस्ने तुलसा कटवालकी छोरी वर्ष ५ कि दीक्षा कटवाल, तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३०/३५ को विपिन निरौला चालक सवारी धनीको सनाखत भएको छ भने अरू  नाम थर ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जनाको अझै सनाखत हुन सकेको छैन ।

यसै गरी सो दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । घाइते हुनेहरूमा सङ्खुवासभा मादी ५ बस्ने वर्ष ३० को सुभाष गोले  (टिकट बुकिङ गर्ने), मादी ६ बस्ने वर्ष २२ कि तुलसा कटुवाल, मादी ६ बस्ने उमेर नखुलेकी अम्बिका बिक,वर्ष ५० को डम्बर बहादुर कार्की र मादी ५ बस्ने वर्ष ३० कि यूका पोखरेल रहेका छन् । बीपीमा ल्याई पुर्‍याएका ५ जना घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

मादीबाट झापाको दमक आउँदै गरेको यात्रुवाहक बस आज बिहान साढे ७ बजे मादी नगरपालिका६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । बस तीव्र गतिमा भएको कारण दुर्घटना भएको बताइएको छ ।