झापा : पाहुना टोली सिक्किमको रेडपान्डा एफसीमाथि फराकिलो जित दर्ता गर्दै घरेलु टोली झापा-११ झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। डोमलाल राजवंशी रङ्गशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोलीको चुनौती झापाले ५-१ गोल अन्तरले पन्छाएको हो । झापालाई जित दिलाउन विमल घर्ती मगर, कप्तान विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा-११ लाई एक गोल उपहार दिएको थियो । रेडपान्डाका योगेश मगरले सान्त्वना गोल फर्काए । खेलको सुरुवातबाटै दबाब बनाएको घरेलु टोलीले ३१ औ मिनेटमा अग्रता बनायो ।  

खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रमेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे । पहिलो हाफमा १-० गोल अन्तरको अग्रता बनाएको झापाले दोस्रो हाफमा ३ गोल गर्न सफल रह्यो । ५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले आत्मघाती गोल गरेपछि झापाले २-० को अग्रता बनायो । झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशालले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्ड भएको बललाई पोस्टको दिशा दिए ।

६० औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए । ६६ औ मिनेट सिक्किमले सान्त्वना गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो । ७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे ।

सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे । खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्‍याए । मैदानको मध्य भागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । सिक्किमका कुनेमान थापाले खेलको १६ औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो । बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए । झापाको जीतसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वाटरफाइनलको समीकरणका खेल पूरा भएका छन् ।

जीतसँगै झापाले शनिवार सङ्कटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्र बाह्रको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो यूथ क्लबबिच हुने छ ।