झापा : घरेलु मैदान डोमलाल राजवंशी रङ्गशालामा झापा-११ आज मैदान उत्रँदै छ। झापा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि झापाले प्रतिद्धन्द्धीको रूपमा आरपी एफसी सिक्किमलाई पाएको छ । घरेलु मैदानमा झापालाई हरेक संस्करणको उपाधिको दाबेदार टोलीको रूपमा हेरिन्छ । ५ औ संस्करण चलिरहँदा झापा हरेक पटक उपाधि होडको टोली हो । तर उपाधि भने जित्न सकेको छैन । यस संस्करणमा पाहुना टोली विरुद्ध झापाली टोली केही दबाबमा देखिन सक्छ । फुटबलको हबको रूपमा चिनिएको झापा-११ खेलाडी उत्पादनको कारखाना थियो । तर अहिले आफैले उत्पादन गरेका खेलाडी अरू क्लबबाट किनेर ल्याउनुपर्ने अवस्थामा छ झापा-११। 
भारतका विभिन्न क्षेत्रमा हुने गोल्डकप र टोलकप खेल्दै आएको टोली विरुद्ध झापालाई दबाब हुन सक्छ । यद्यपि सिक्किमको टिम विरुद्ध यसअघिको झापाको नतिजा सन्तोषजनक देखिन्छ । तेस्रो संस्करणमा सिक्किम युनाइटेड विरुद्ध जित निकाल्दै झापाले सेमिफाइनलमा स्थान बनाएको थियो । नेपाली राष्ट्रिय टोलीका सदस्य देवेन्द्र तामाङ, विशाल राई र विमल घर्ती मगर सहित विश्वास श्रेष्ठ झापाको टिमबाट देखिनेछन् ।
भरखरै सम्पन्न नेपालका ए डिभिजन लिग सहभागी खेलाडीहरू सम्मिलित भएकोले झापाको टोलीले घरेलु मैदानमा सानदार जितको अपेक्षा राखेको छ । लगातार चार वटा संस्करणको फाइलनलिष्ट झापाविरुद्ध पाहुना टोली सिक्किमको खेल कस्तो हुनेछ अपराह्न साढे २ बजे डोमलाल राजवंशी रङ्गशालामा देखिनेछ।