झापा : झापाको बिर्तामोड स्थित डोमलाल राजवंशी रङ्गशालामा उपाधि होड प्रवेशका लागि ३ संस्करणको विजेता त्रिभुवन आर्मीले नवप्रवेशी सातदोबाटो क्लबसँग खेल्दैछ। 'जाइन्ट किलर' को उपमा पाएको सातदोबाटो अविश्वसनीय नतिजाको लागि माहिर टोली मानिन्छ। झापाली मैदानमा पहिलो पटक उत्रिएको क्लबले जावलाखेल र एपिएफको चुनौतीलाई पार लगाउँदै आर्मीसँगको भेट पक्का गरेको हो । यता आर्मीले पाहुना टोली मानेभञ्ज्याङ विरुद्ध सहज जित निकाल्दै सेमीफाइलन पुगेको हो। 
गत वर्षको बी डिभिजन च्याम्पियन भएर ए डिभिजनमा उक्लिएको सातदोबाटो सहिद स्मारक ए डिभिजन लिगमा चौथो स्थानमा रह्यो । लिगकै नतिजालाई हेर्दा आर्मीलाई बराबरीमा रोक्न सफल टोलीको रूपमा सातदोबाटो रहेको छ । नेपाली फुटबलको पावरहाउस मध्येका मनाङ मर्स्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस जस्ता क्लबलाई लिगमा हराउँदै चौथो स्थानमा सीमित बन्दा सङ्कटासँग बराबरी खेलेको थियो । प्रतियोगितामा सेमिफाइनल पुग्ने ४ टोली मध्ये राष्ट्रिय खेलाडी विहीन टोली सातदोबाटो हो। 
तर अविश्वसनीय नतिजाको लागि माहिर टोली विरुद्ध विभागीय आर्मी दबाबमा हुनेछ । प्रतियोगितामा सहभागिता जनाएको ४ मध्ये ३ प्रतियोगिताको फाइनल खेल्दै उपाधि जितेको टोलीलाई नवप्रवेशी विरुद्ध केही कठिन हुने देखिन्छ । यद्यपि टिमका मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ इन्जुरी पछि कमब्याक गरिसकेको अवस्थामा आर्मी केही बलिया देखिन्छ। 
गोलरक्षक अविशेक बराल, पिटर सेगुन, मानबहादुर तामाङ, सुशील राई, अजयी मार्टिन्स्, प्रशान्त अवस्थी, आशिष राई लगायतको खेलाडीहरू सहित सातादोबाटो मैदान उत्रिनेछ। 
नेपाली राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथु, सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, जगजित श्रेष्ठ, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, सेसेहाङ आङ्दाम्बे लगायतका खेलाडीहरू आर्मीसँग हुनेछन् ।