झापा : सातदोबाटो क्लबमाथि फराकिलो जित दर्ता गर्दै विभागीय टोली त्रिभुवन आर्मी झापा गोल्डकपमा चौथो पटक फाइनल प्रवेश गरेको छ। 

डोमलाल राजवंशी रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा सातदोबाटोको चुनौती ४-१ गोल अन्तरले पन्छाउँदै आर्मीले कम्तीमा ६ लाख ५ हजार सुरक्षित गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले सान्त्वना गोल फर्काउन सक्यो । खेलको २७ औँ मिनेटमा सुमनले आर्मीलाई सुरुवाती अग्रता दिलाए । सन्तोष तामाङको फ्रिकिक प्रहारलाई सुमनले जाली चुमाए। पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोले खेल बराबरीमा ल्यायो । सुशील राईको क्रस पासलाई सदुपयोग गर्दै दीपकराज सिंह ठकुरीले खेल बराबरी गरे । दोस्रो हाफमा आर्मीले थप ३ गोल गर्दै झापा गोल्डकपमा चौथो पटक उपाधि होडमा प्रवेश गर्न सफल रह्यो ।  ६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २-१ मा पुर्‍याए। ८० औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग गोल अन्तर फराकिलो बनाए । ८४ औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् ।

सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन । ५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दीपकराज सिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।

आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना गर्‍यो । छैटौँ मिनेटमा आर्मीका दीपक गुरुङको प्रहार आकासियो । १५ औँ मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट वञ्चित भयो । २५ औँ मिनेटमा टङ्क बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए । ४१ औँ मिनेटमा टङ्क बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो । ५८ औँ मिनेटमा सन्तोष तामाङको प्रहार फस्र्टबारमा लागेर फर्कियो ।

 शुक्रवारको खेलको प्लेयर अफ दि म्याच सन्तोष तामाङ घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । शनिवारको अन्तिम सेमिफाइनल खेल घरेलु टोली झापा-११ फुटबल क्लब र सङ्कटा क्लबबिच हुनेछ । आर्मीले अब शनिवारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथो पटक फाइनल प्रवेश गरेको हो । यसअघि उसले ३ संस्करणमा उपाधि आफ्नो पक्षमा पारेको थियो ।