झापा :  पाँचौँ झापा गोल्डकपको उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा-११ भिड्ने भएका छन् । 

डोमलाल राजवंशी रङ्गशालामा जारी प्रतियोगितामा सङ्कटा क्लबमाथि २–० गोल अन्तरको जित निकाल्दै झापा घरेलु मैदानमा पाँचौँ पटक फाइनलमा प्रवेश गरेको हो । अब झापाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसँग चौथो पटक प्रतिस्पर्धा गर्नेछ ।

यसअघिका ३ संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि रक्षा गरेका थिए । झापालाई फाइनल प्रवेश गराउन विमल घर्ती मगरले दुवै गोल गरे । खेलको १६ औ मिनेटमा झापाले सुरुवाती अग्रता बनायो । एन्ड्रियस नियाको पासमा विमलले सङ्कटाका गोलरक्षक रोहित कार्कीलाई जिल्याउँदै जाली चुमाए ।

पहिलो हाफमा १-० को अग्रता बनाएको झापाले दोस्रो हाफमा थप १ गोल गर्न सफल रहयो । ५७ औ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरे । विकास मेराग्लियाको क्रस पासमा विमलले गोल गरे । फाइनल प्रवेश गरेसँगै झापाले कम्तीमा ६ लाख ५ हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच २ गोलकर्ता विमल घर्ती मगर घोषित हुँदै नगद ९ हजार ९ सय ९९ सय रुपैयाँ प्राप्त गरे ।

गत फागुन २१ गतेबाट जारी प्रतियोगिताको विजेता टोलीले १२ लाख ५५ हजार प्राप्त गर्नेछ ।  पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ ।