झापा : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्डकपको फाइनल खेलमा लागि बिर्तामोड आउने भएका छन् । 

फागुन ३० गते डोमलाल राजवंशी रङ्गशालामा हुने त्रिभुवन आर्मी क्लब र झापा-११ को खेलका लागि अल्मुताइरी झापा आउन लागेका हुन् । उनले झापा आउनेबारे आफ्नो फेसबुक स्ट्याटसमा समेत उल्लेख गरेका छन् ।प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनी खेल अवधिभर मैदानमा रहने छन् ।
कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो । एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाह नेपाली टिमका हालसम्मका सफल प्रशिक्षक हुन् । उनले नेपाललाई थ्री नेसन्स कपको उपाधि समेत दिलाएका थिए ।
कतार फुटबल एसोसिएसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यु-२३ र किर्गिस्तान यु-१७ टिमसँग काम गरिसकेका छन् ।