झापा : झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा-११ बिच हुँदैछ। बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने खेलमा आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्न चाहन्छ । झापाले सेमिफाइनलमा सङ्कटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो।
आइतबार बिर्तामोडस्थित होटेल दि किङ्सबरीमा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे। उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताए ।
झापा-११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चार पटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यस पटक जित निकाल्ने बताए।
यसअघि तीन पटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ। आर्मीले ३ वटै संस्करणमा झापाको चुनौती पन्छाउँदै उपाधि जितेको हो । अघिल्लो संस्करणको समेत उपाधि जितेको आर्मीका लागि घरेलु टोली घातक साबित हुन सक्छ।
झापाले भने चार पटक नै उपविजेतामा चित्त बुझाएको हो । उसले दोस्रो संस्करणमा मनाङ मस्र्याङदीसंग पराजित बनेको थियो । अन्य संस्करणमा आर्मी बाधक बन्यो । पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
विशाल राई 'ए' लाई लाइफटाइम अचिभमेन्ट
त्यस्तै झापा गोल्डकपले यस पटक झापा-११ का खेलाडी विशाल राई 'ए'लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने भएको छ। उनले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले बताए।