झापा : झापा  गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले  चौथो पटक जितेको छ । 
झापाको बिर्तामोड स्थित डोमलाल राजवंशी रङ्गशालामा भएको फाइनल खेलमा चिरप्रतिद्धन्द्धी झापा-११ लाई २-१ गोल अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि पहिलो, तेस्रो र चौथो संस्करणमा आर्मीले झापालाई हराउँदै उपाधि चुमेको थियो । आर्मीको जितमा टेकबहादुर बुढाथोकी र कप्तान जर्जप्रिन्स कार्कीले गोल गरे । झापाका तर्फबाट विमल घर्ती मगरले सान्त्वना गोल फर्काए । 
खेलको १८ औ मिनेटमा टेकबहादुरले आर्मीलाई सुरुवाती अग्रता दिलाए । सुमन अर्यालको क्रस पासमा टेकबहादुरले उत्कृष्ट फिनिस गरे । ३ मिनेट नबित्दै जर्जप्रिन्सले अग्रता दोब्बर बनाए । गोलरक्षक र डिफेन्सको तालमेल नमिल्दा जर्जप्रिन्सले जाली चुमाए । गोलरक्षक दीप कार्की अघि बढेको मौकामा उनले गोल गरेका थिए । २४ औ मिनेटमा विमल घर्तीले गोल अन्तर कम बनाए । 
उर्लिचको क्रस पासमा अनमार्क बिमलले हेडर मार्फत गोल गरे । दोस्रो हाफका दुवै टोलीले केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । विजेता बनेको आर्मीले १२ लाख ५५ हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित बनेको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । 
प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्