धरान : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जनप्रतिनिधिमा दाबेदारी दिने क्रम सुरु भएको छ। प्रदेश १ कै महत्त्वपूर्ण उपमहानगरपालिका धरानमा मेयरका दाबेदारहरू बढ्न थालेका छन् । 
नेपाली काँग्रेसबाट हालका मेयर तिलक राई, किशोर राई, श्याम पोखरेल र सुजेन्द्र गोलेको नाम चर्चामा देखिन्छ। एमालेको प्रभावशाली क्षेत्र मानिएको धरानमा आकाङ्क्षीको संख्यापनि त्यति नै बढी हुँदै गएको छ। एमालेबाट हालकी उपमेयर मञ्जु भण्डारी, मनोज मेन्याङ्बो, मेयरमा पराजित उम्मेदवार प्रकाश राई चर्चामा छन् । त्यससँगै धरानका प्रभावशाली नेताको छवि बनाएका दुई मिडिया उद्यमीले पनि दाबेदारी प्रस्तुत गरेका छन् । 
पूर्वकै सबैभन्दा जेठो र प्रभावशाली पत्रीका ब्लास्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक किशोर कुमार कार्कीले पहिलो दाबेदारी पेस गरेका छन् । अहिले आफ्नो इच्छा व्यक्त गरे पनि पार्टीले मूल्याङ्कन गरेर उम्मेदवार बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । आफूले विगतमा गरेको योगदानको कदर हुने भन्दै उनले धरानको पहिचानलाई जीवन्त राख्न मेयर हुन लागेको बताए । 
पछिल्लो समय जनप्रतिनिधिलाई अनभिज्ञता र अध्ययनको कमिले कामको परिणाम देखाउन नसकेको उनको निष्कर्ष छ । आफू मेयर भएको अवस्थामा जनताको सिधा सम्पर्कमा रहने र पुरानो धरानको गरिमा फर्काउने बताए । 
त्यस्तै औजार प्रकाशन सहकारी संस्थाको अध्यक्ष मोतीराज सुनुवारको पनि दाबेदारी देखिएको छ । नेकपा एमालेका प्रभावशाली र शालीन नेतृत्वको छवि बनाएका उनी मिडिया उद्यमी हुन् । हाल सम्म कुनै लाभको पदमा नपुगेका उनी मजदुर तथा पुराना नेता कार्यकर्ता पङ्क्तिमा लोकप्रिय मानिन्छन् । औजार दैनिक नामको पत्रीका देखी अनलाइन पत्रीका र अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका उनी धरानका चर्चित नेता हुन् । हाल औजार दैनिक पत्रिका भने बन्द छ ।
पार्टीले मूल्याङ्कन गरेर मेयरको उम्मेदवार बनाए धरानलाई धरानजस्तै बनाउन भिजन रहेको उनले प्रष्ट पारे । धरानको खास समस्या र पहिचानको विषयमा हालका जनप्रतिनिधि अनभिज्ञ रहेको उनको भनाई छ । विगतमा आफूले पार्टीमा गरेको योगदानको कदर गर्दै टिकट पाउनेमा आशावादी रहेको उनले सुनाए।  
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । मेयर तारा सुब्बाको निधन पछि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार तिलक राईले बाजी मारेका थिए। पछिल्लो समय नेकपा एमालेको विभाजनको कारण पुनः आफ्नो उम्मेदवार विजयी हुनसक्ने काँग्रेसको बुझाई छ। उता एमाले वृत्तमा भने अब पार्टीभित्र अन्तर्घात गर्ने समूह नभएको कारण एमाले उम्मेदवार स्वतः विजयी हुनसक्ने आङ्कलन गरिएको छ।