इटहरी : नेकपा एमाले धरानका नेता प्रकाश राई उपमहानगरपालिकाको मेयरमा पराजित उम्मेदवार हुन्। २०७६ मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राईसँग पराजित उनी पुनः उम्मेदवार बन्ने तयारीमा लागेका छन् । तिलक राई नेतृत्वको स्थानीय सरकारले जनताको अपेक्षा पुरा गर्न नसकेको भन्दै मेयरको पुनः टिकटको लबिङमा लागेका हुन्। 
कम्युनिस्टको गढ मानिएको धरानमा तिलक राईको जितलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। मेयर तारा सुब्बाको निधनपछि धरानमा पुनः निर्वाचन भएको थियो । तत्कालीन नेकपा भित्रको आन्तरिक असन्तुष्टिको कारण तिलक राई विजयी भएका थिए । 
नेकपाको तर्फबाट उम्मेदवार भएको प्रकाश राई अहिलेका जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउँछन् । धराने जनतालाई विकाश र समृद्धिको सपना देखाएर विजयी भएका मेयर तिलक राईले जनतालाई ढाँटेको उनको तर्क छ । 
खानेपानी समस्या समाधान भन्दा झनै बल्झिँदै गएको, धरानका व्यवसायीलाई करको झन्झटमा पार्ने देखी सुकुम्वासी समस्या समाधान गर्न कुनै पहल नगरेको उनको आरोप छ। हिजो भन्दा आज धरानमा विकाश निर्माणको गति झनै कमजोर भएको र भएका निर्माण पनि कमजोर भएको उनको भनाई छ । 
जनताको सेवा गर्ने जनप्रतिनिधि शासकको शैलीमा प्रस्तुत हुनु राम्रो नभएको राईले बताए । काँग्रेसले जारी गरेको तत्कालीन घोषणापत्र अनुसार कति पनि काम नभएको उनको गुनासो छ।
धरानको उपनिर्वाचनमा प्रकाश राई तिलक राईसँग २ हजार ७ सय ९५ मतले पराजित भएका थिए । तिलकले २६७०९ मत ल्याउँदा राईले २३९१४ मत पाएका थिए । २०३६ सालमा भएको तत्कालीन निर्वाचनमा जन पक्षीय उम्मेदवार बम देवान विजयी भएपछि कम्युनिस्टको किल्ला मानिएको धरानमा तिलक राईको जित काँग्रेसको लागि ऐतिहासिक भएको थियो ।