धरान : सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ। मंगलबार धरान रङ्गशालामा ८ र १९ नं. वडाको खेल सकिएसँगै पहिलो चरणको खेलहरू सम्पन्न भएका हुन् । 

८ ले १९ नं. वडालाई २-० ले पराजित गरेको छ । ८ नं. वडाका लागी मनोज राई र आमोद माझीले गोल गरेका थिए । राईले खेलको दोस्रो हाफको ३८ र माझीले दोस्रो हाफको ४१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान-८ का आमोद माझी घोषित भए उनलाई नगद रु २५ सय पुरस्कार प्रदान गरिएको थियो । 

भोलि धरान रङ्गशालामा हुने पहिलो खेलमा वडा नं. १६ र १९ त्यस्तै गरी दोस्रो खेलमा वडा नं. १५ र १४ का बिच हुनेछ । पहिलो खेल दिनको २ बजे र दोस्रो खेल दिनको ४ बजे सुरु हुने आयोजकले जनाएको छ ।पहिलो चरणको खेलहरू सम्पन्न हुँदा वडा नं. १५, १४, १३ र ८ ले आफ्नो खेल जित्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएका छन् । 

गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समूह 'ए' मा रहेका १५ र १४ नं. वडाले एक खेल जितेका छन् । १५ नं. वडाले ११ लाई र १४ ले १८ नं. वडालाई पराजित गरेका हुन् । त्यस्तै समूह 'बी' मा रहेका १३ र ८ नं. वडाले पनि आफ्नो एक खेल जितेका छन् । १३ ले १६ नं. वडालाई पराजित गरेको हो भने ८ ले १९ नं. वडालाई जितेको हो ।

समूह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरूले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । भोलिको खेल धरान ११ र १८ बिच दिउसो ४ बजे हुने बताइएको छ ।