इटहरी : धनगढीमा आगामी चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले बिदाइ गरेको छ । 
सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्री राजन राईले सुनसरीको इटहरीबाट बिदाइ गरेका हुन। 
खेलाडीहरूलाई खेल पोसाक र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री राईले उच्च मनोबलका साथ खेलमा सहभागी हुन आग्रह गरे । मन्त्री राईले सो प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त भएमा प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्ने समेत बताए । 
प्रतियोगिताको टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे रहनु भएको छ । टिममा प्रकाश लावती लिम्बु (झापा), सन्देश विष्ट (भोजपुर), दिलीप राई (ओखलढुङ्गा), मिलन श्रेष्ठ (तेह्रथुम), निश्चल थापा ( उदयपुर), अनिल श्रेष्ठ (ओखलढुङ्गा), यामबहादुर कटुवाल (ताप्लेजुङ), अभिषेक थापा (ओखलढुङ्गा), हिमाल प्रसाईँ (ताप्लेजुङ), संयोग नेम्वाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रवीण कटुवाल (खोटाङ) सहभागी हुनेछन् । 
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट प्रदेश नं १ भलिबल सङ्घसँगको सहयोगमा सामाजिक विकास मन्त्रालयले गरेको थियो । खेलाडीलाई सामाजिक विकास मन्त्रालय  र प्रदेश नं १ भलिबल सङ्घको सहकार्यमा दमक र धरानमा १५ दिनको बन्द प्रशिक्षण सञ्चालन गरिएको थियो ।
बिदाइ कार्यक्रममा मन्त्रालयका निमित्त सचिव फणीन्द्र खत्री, प्रदेश १ भलिबल सङ्घका अध्यक्ष हरि बहादुर निरौला, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा र पूर्व क्याप्टेन ऋषिराज आचार्य तथा प्रदेश भलिबल सङ्घका पदाधिकारी, सामाजिक विकास मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 
सात वटै प्रदेश, तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी सहित १० टिम सहभागी हुने प्रतियोगिता  चैत्र ७ देखि १२ सम्म हुनेछ।