तरहरा : आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस इटहरीले आफ्ना गतिविधि बढाएको छ । टोल समिति गठन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको नेपाली काँग्रेस इटहरी उपमहानगर वडा २ ले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस सुनसरी जिल्ला उप-सभापति नगेश चन्द्र राईको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रमेश पोखरेलले प्रशिक्षण दिएका थिए । 
प्रमुख प्रशिक्षकका रूपमा आएका पोखरेलले नेपाली काँग्रेसको इतिहास केलाएका थिए। उनले नेपाली काँग्रेसको स्थापना,नेपाली काँग्रेसले स्थापित गरेको नारा, नेपाली काँग्रेसको झण्डामा चार तारा र रुख राखिनुको उद्देश्य लगायतका विषयमा प्रशिक्षण दिएका थिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस सुनसरी जिल्ला उपसभापति नगेश चन्द्र राईले नेपाली जनतामा भएको मिलिनयम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को भ्रम चिर्नु आवश्यक रहेको बताए ।  एमसीसी नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै नेपाली जनतामा भ्रम सृजना गरेर द्धन्द निम्त्याउने कार्यमा विकास विरोधीहरू लागि परेको उपसभापति राईको भनाई थियो । 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले इटहरीमा नेपाली काँग्रेसलाई विजय गराउन वडा कमिटीदेखि नै एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे । उनले व्यक्तिको पछि नलागी नेपाली काँग्रेस भएर अघि बढ्न आग्रह गरे । 
यता नेपाली काँग्रेस इटहरीका पूर्व नगर सभापति फुलराज सुवेदीले जनतामा भएको (एमसीसी) को भ्रम चिर्ने कार्यमा वडा समितिको महत्त्वपूर्ण भूमिका रहेको औँल्याए । उनले इतिहासमा नेपाली काँग्रेसले गरेका उदाहरणीय ल कामहरूको स्मरण गराउँदै मिलिनयम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पनि नेपाली काँग्रेसको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । 
इटहरी वडा नम्बर २ ले हाल सम्म २९ वटा टोल कमिटी गठन गर्न सफल भएको उल्लेख गर्दै वडा २ का सभापति दीपेन्द्र घिमिरेले प्रशिक्षणमा सिकेका कुराहरूलाई व्यवहारिक बनाउँदै घर घरमा जाउँ  काँग्रेस जिताउँ अभियानमा लागु गर्न आग्रह गरे। 
इटहरी-२ स्थित राजदेवी मन्दिरको शभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा करिब २५० भन्दा धेरैको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा आएका सिता नेपाल,कमला पुरी र नवराज तिम्सिनाको नेतृत्वमा आएका १० जना साथै नेकपा माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका चोलानाथ अधिकारी ( गोपाल) लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो ।
: मनोज दाहाल