सुनसरी : नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब धरानमा जारी छैटौँ हराईजन राष्ट्रिय बास्केटवल कपको फाइनलमा प्रवेश गरेको छ । धरान स्थित हराईजन क्लबको कोर्टमा आज बुधवार भएको पहिलो सेमिफाइनल खेलमा काठमाण्डौको रोयल्स बास्केटबल क्लबलाई ७९ का विरुद्ध ९२ स्कोरले पराजित गर्दै आर्मीले उपाधि भिडन्त पक्का गरेको हो। 
राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीले प्रत्येक क्वाटरमा ३०-२१-२६-१५ स्कोर बनाउँदा रोयल्सले ३२-१४-१४-१९ स्कोर मात्र बनाउन सक्यो । राष्ट्रिय टिमका ७ सदस्य समावेश भएको आर्मीका लागि सर्वाधिक २८ स्कोर गरेका आयुस सिंह म्यान अफ द म्याच भए । आर्मीले अब उपाधिका लागि भोलि हुने विशाल मिलन केन्द्र काठमाडौँ र काठमाडौँ कै टाईम्स क्लबबिच हुने अन्तिम सेमिफाइनल खेलको विजेतासँग पर्सी शुक्रवार हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछ । 
क्वाटर फाइनलमा आयोजक हराइजन क्लबलाई पराजित गर्दै सेमिफाइनल खेलको आर्मी र धरानको ब्रदर्श क्लबलाई पराजित गर्दै आर्मीसँगको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको रोयल्स बिचको आजको खेललाई गुरु र चेलाबिचको प्रतिस्पर्धाको रूपमा हेरिएको थियो । रोयल्स क्लबका खेलाडी आर्मीका खेलाडीहरूसँग प्रशिक्षण लिँदै आएका छन् । राष्ट्रिय टिमका २ जना खेलाडी रोयल्सबाट खेल्दै आएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।