धरान : धरान-१४ पिण्डेश्वर मन्दिर परिसरमा रहेको सरस्वती कुण्ड पुरिन सक्ने अवस्थामा मन्दिर देखि मास्तिर थुपारिएको माटो सम्याईएको छ ।

पिण्डेश्वर मन्दिर जाने बाटो बाबाधाम मार्गमा सडक किनारामा घर निर्माण गर्दा खनिएको माटो पिण्डेश्वर मन्दिर देखि केही मास्तिर ट्र्याक्टरमा लगेर थुपारिएको थियो । यसरी सडक किनारामा माटो थुपारिदा पिण्डेश्वर मन्दिरको सरस्वती कुण्ड (पोखरी) बर्खा याममा पुरिने जोखिम भएको भन्दै कपुरी न्युजमा ‘पिण्डेश्वरको सरस्वती कुण्ड जोखिममा, स्थानीय सरकारको ध्यानै गएन’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

त्यस पछि धरान उपमहानगरपालिकाले नगर प्रहरी खटाएर अव्यवस्थितरुपमा फालिएको कमेरे माटो व्यवस्थापन गर्न सम्बन्धित मान्छेलाई निर्देशन दिएको थियो । निर्देशन दिएको निकै समय बित्दा पनि अव्यवस्थितरुपमा फालिएको माटो व्यवस्थापन नभए पछि १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको निर्देशनमा माटो सडक किनारामा सम्याईएको छ । फालिएको माटो सडक किनारामा सम्याए पछि पनि अझै बर्खा याममा पानीले बगाएर सरस्वती कुण्डलाई असर पार्न सक्ने देखिन्छ ।

धरानको विजयपुरमा रहेका धार्मिक स्थलहरू मध्ये पिण्डेश्वर बाबाधाम पनि एक हो । पिण्डेश्वर वावाधाममा देश विदेशवाट पिण्डेश्वरको महिमाका कारण लाखौँ भक्तजनहरू दर्शन गर्न आउने गर्दछन् । पिण्डेश्वर दर्शन गर्न आउने मुख्य सडक बाबाधाम मार्ग दिनानुदिन सागुरिदै गएको छ । 

सडक किनारामा धरान उपमहानगरपालिकाको मापदण्ड विपरीत भौतिक संरचनाहरू होडबाजी बन्ने गरेकोले सडक सागुरिदै गएको हो । अहिले पनि बाबाधाम मार्गमा सडक किनारामा भित्ता खनेर केही संरचना बनिरहेका छन् । बन्दै गरेका संरचना धरान उपमहानगरपालिकाको मापदण्ड भित्र पर्छन् की पर्दैनन् ? यसबारेमा सम्बन्धित निकायको अलिकति पनि ध्यान गएको छैन । आउँदो दिनमा ३० फिटको विजयपुरको सडक मापदण्ड सो क्षेत्रमा निर्माण हुँदा पुग्छ की पुग्दैन ? यसबारेमा सम्बन्धित निकायले अनुगमन गरेर नियमन गर्नुपर्नेमा धरान उपमहानगरपालिका चाल पाएर पनि बेखवर जस्तै बनिदिँदा पिण्डेश्वर मन्दिर जस्तो प्रसिद्ध धार्मिक स्थल आउ जाऊ गर्ने क्षेत्र नै सागुरिदै गएको छ । यसै गरी मन्दिर नजिकै रहेको इनार र पोखरी आसपासमा घर घडेरीका लागि खनिनुको कारण भोलि इनार र पोखरीको पानी समेत सुक्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । तर धरान उपमहानगरपालिका भने चुप बसेको छ । 

Pindeswor-2Pindeswor-3