सुनसरी : छैटौँ हराईजन राष्ट्रिय बास्केटबल कपको उपाधिका लागि आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र काठमाण्डौकै टाइम्स बास्केटबल क्लब बिच प्रतिस्पर्धा हुदैछ। खेल दिउसो ३ बजे धरानस्थित घोपा माविको बास्केटबल कोर्टमा हुने आयोजकले जनाएको छ। उद्घाटन खेलमा आयोजक हराइजन क्लब धरानलाई ८६–१३१ स्कोरले पराजित गरेको आर्मीले सेमिफाइनलमा काठमाण्डौको रोयल्स बास्केटबल क्लबलाई ७९ का विरुद्ध ९२ स्कोरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।

अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोड बास्केटबल क्लब झापालाई माथि १३१-६८ को फराकिलो जित निकालेको टाइम्स क्लबले सेमिफाइनलमा काठमाण्डौकै विशाल मिलन केन्द्र विरुद्ध १२३-१०१ को जित निकाल्दै आर्मीसँगको फाइनल भेट पक्का गरेको हो । दुवै टिममा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेकाले फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

आर्मी र टाइम्स क्लब दुवै टिममा आधा दर्जन बढी राष्ट्रिय खेलाडी आबद्ध रहेकाले पनि यही टिमले खेल जित्छ भन्ने अनुमान गर्न गाह्रो हुने आयोजकको दाबी छ । यद्यपि दुवै टिमका कोचले खेल जित्ने दाबी गरेका छन्। राष्ट्रिय खेलाडीहरूको दबदबा रहेको टाइम्स क्लबका ६ जना सदस्य राष्ट्रिय टिम सदस्य रहेका छन् । राष्ट्रिय बास्केटबल टिमका क्याप्टेन सदिश प्रधान, विक्रम जोशी, विजय बुर्जा, मोबिन्द्र क्षेत्री र मनिष केसी राष्ट्रिय टिमबाट सदस्य हुन उनीहरू सबै टाइम्स क्लबबाट खेल्दै आएका छन्।

गत वर्षको विजेता समेत रहेको आर्मीमा आबद्ध आयुश सिंह, सौरभ श्रेष्ठ, रामकृष्ण घतानी, विनोद महर्जन, आशिस बस्नेत, निश्चल महर्जन र अजय कुशवाह राष्ट्रिय टिमका सदस्य हुन। 

प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा गत वर्षको तुलनामा यो वर्ष नगद पुरस्कार राशि थप गरिएको क्लबका अध्यक्ष वसन्त राईले जानकारी दिए। अघिल्लो संस्करणमा प्रथम पुरस्कार १ लाख र उपविजेता को पुरस्कार ५० हजार मात्र रहेको थियो। यस्तै, यो वर्ष सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् । 

२०६९ सालदेखि सुरु भएको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणमा आयोजक हराईजन क्लब विजयी भएको थियो। यस्तै २०७३ र २०७५ मा इमोर्टल्स क्लब धरान विजयी भएको थियो। यसैगरी गत संस्करणमा नेपाल आर्मी क्लब काठमाण्डौं विजयी भएको थियो।