सुनसरी : धरानमा जारी छैटौँ हराईजन राष्ट्रिय बास्केटबल कपको उपाधिका लागि काठमाण्डौको टाइम्स क्लब र विभागीय टिम त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा हुने भएको छ। 
धरानमा आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा टाईम्स क्लबले विशाल मिलन केन्द्र काठमाडौँ विरुद्ध १२३-१०१ को जित निकाल्दै आर्मीसँगको भेट पक्का गरेको हो । टाईम्स क्लबले प्रत्येक क्वाटर ३८-२८-३३-२४ अङ्क जोड्दा विशाल मिलन केन्द्रले २९-२६-२६-२० अङ्क मात्र जोड्न सफल भयो । 
खेलको म्यान अफ द म्याच टाईम्स क्लबका विजय बुर्जा भए । उनले टिमका लागि ३३ स्कोर गरे । अब टाईम्स क्लबले भोलि शुक्रवार हुने फाइनल खेलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । आर्मीले हिजो बुधवार भएको पहिलो सेमिफाइनलमा काठमाण्डौको रोयल्स बास्केटबल क्लबलाई ७९ का विरुद्ध ९२ स्कोरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।