धरान : सरकारले चैत ७ गते किस्ता स्वरूप बिमा रकम निकासा गरेको अवस्थामा बिपी प्रतिष्ठानले स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार बन्द गर्ने भनी जारी गरेको सूचना गैर जिम्मेवारी भएकोमा स्थानीय सरकार धरान उपमहानगरपालिका, जिल्ला प्रशासन तथा सुरक्षा निकायले ध्यानाकर्षण गराउँदै स्वास्थ्योपचार अत्यावश्यक सेवाको श्रेणीमा पर्ने भएकोले रोक्न नमिल्ने जानकारी गराएको छ।
मेयर तिलक राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँ सहितको टोलीले शुक्रवार प्रतिष्ठानको अस्पताल प्रशासन, स्वास्थ्य बिमा प्रशासनका अधिकारीहरू सँग छलफल गरी बिमा गरेका बिरामीहरूको उपचार सेवा सुचारु राख्न ध्यानाकर्षण गराएका हुन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरी काठमान्डु गएकाले छलफलमा उपस्थित थिएनन् ।
प्रतिष्ठानले चैत ९ गते सामाजिक सञ्जालमा एक विज्ञप्तिको फोटोकपी राख्दै चैत १५ गते देखी स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई उपचार नगर्ने सूचना जारी गरेको थियो । तर चैत ७ गते नै सरकारको बिमा बोर्डले बिमाको किस्ता बापत ३ करोड, ५७ लाख, ५१ हजार, ७५४ हजार रुपया निकासा गर्ने निर्णय गरिसकेको अवस्थामा अत्यावश्यक उपचार बन्द गर्ने सूचना जारी गरिनु गैर जिम्मेवार व्यवहार भएको बिपीका अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएको हो । 
प्रजिअ यादवले मन्त्रालय र बोर्डमा सम्पर्क गर्दा चाँडै ७ देखी ८ करोड निकासा गर्ने तयारी भइरहेको बुझिएको जानकारी दिँदै प्रतिष्ठानले त्यसको जानकारी लिने ताकेता गर्ने काम नगरेर उपचारै बन्द गर्ने कुरा गर्नु गलत भएको बताए । छलफलमा निमित्त अस्पताल प्रमुख डा. विकाशकुमार साह, डा. अशोककुमार साह, बिमा शाखाका सुरज ढुङ्गाना सहितका अधिकारीहरू सहभागी थिए । 
अस्पताल अधिकारीहरूले स्वास्थ्य बिमाको रकम निकासामा २०७४ साल देखी समस्या देखिएको बताए । बिमा रकमको दाबीमा मुल्याङकनको ढिलाइले अहिले सम्म २५ करोड दाबी रकम मध्ये १ करोड ६३ लाख रुपैयाँको मात्र मुल्याङन भएको जानकारी दिए । बिमा रकम दाबी गर्दा बोर्डले कतिपय दाबीमा रकम घटाएर मूल्याङ्कन गरिदिने गुनासो उनीहरूले सुनाए । अशोक साहका अनुसार वीपीले ओपिडी कार्डको २०० रुपया दाबी गर्दै आएकामा बोर्डले ५० रुपैयाँ मात्र कायम गर्दै आएको छ ।
प्रतिष्ठानले मिडियाबाजी गरेपछि मेयर तिलक राई एक्सनमा उत्रिएका हुन । बोर्ड र बिपी प्रतिष्ठान बिचको बिमा रकम लेनदेनको असमझदारीको सिकार सर्वसाधारण बिरामीहरूलाई बनाउने गैर जिम्मेवार व्यवहारबाट असन्तुष्ट मेयर राईले छलफलमा भने ‘सर्वसाधारण धरानवासी उपचारै नपाइने हो कि भनेर आतङ्कित भएका छन्, एउटा पत्र लेखेर जनतालाई आतङ्कित बनाउने काम भएको छ ।’ सरकार वा बिपीको आफ्नै कमजोरीका कारण बिमा रकम ढिलाइ भएको हुनसक्छ, यसो भन्दैमा बिरामीको उपचार गर्न दायित्वबाट बिपी पन्छिन मिल्दैन ।
२०७४ साल देखीको समस्या समाधान गर्ने पहल अहिले सम्म प्रतिष्ठानले किन गरेन रु प्रतिष्ठानका उपकुलपति वर्षमा छ महिना काठमान्डु बस्छन्, प्रतिष्ठानको समस्या सुल्झाउन सम्बन्धित नीति निर्माण तह, निकायमा पहल गर्ने फुर्सद हुँदैन रु मेयर राईको प्रश्न थियो । उनले प्रतिष्ठानका सिनेट बैठक चैत २३ गते बस्ने भएको जानकारी दिदैं बैठकमा सबै विषय राख्ने प्रतिबद्धता जनाए । उपमहानगरपालिकाले सहयोग गर्दै आएको र बिपीको स्थायित्व, सुशासन र उन्नतिको चिन्ता गरिरहेका धरानवासीलाई बिपीबाटै आतङ्कित हुने अवस्था सिर्जना हुन नहुने उनको आग्रह थियो ।
छलफलपछि दुवै पक्षको हस्ताक्षर सहित ४ सूत्रीय समझदारी भएको कुरा माइन्युट गरिएको छ । माइन्युटमा सम्पूर्ण समस्याहरू समाधान गर्न विभिन्न स्तरबाट समन्वय एवं पहल भइरहेको सन्दर्भमा स्वास्थ्य बिमा कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्न प्रशासनले प्रतिष्ठानलाई अनुरोध गरेको छ । बिमा सम्बन्धी सम्पूर्ण समस्याहरू यकिन तथा लिपिबद्ध गरी समन्वय गर्न सरोकारवाला निकायहरूमा प्रतिष्ठान, स्थानीय प्रशासन, स्थानीय सरकारबाट पत्राचार गर्ने । आगामी २०७८ चैत्र २३ गतेको सिनेट बैठकमा प्रतिष्ठानको सम्पूर्ण समस्याहरू स्थानीय सरकार मार्फत अवगत गराउने । 
प्रतिष्ठानमा भएको छलफल लगत्तै धरान उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय सहित उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार जारी राख्न प्रतिष्ठानका अधिकारीहरू सँग समझदारी भएको जानकारी दिइयो । मेयर राईले भने 'स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार रोकिन्न ।' लेनदेनको निहुँ बनाएर उपचार बन्द गर्ने बिपीको व्यवहार तल्लो स्तरको बताए।
उनले ‘वीपीले खानेपानीको महसुल नतिरेको आठ महिना भयो, महसुल तिर्न ढिलो भयो भन्दै बिपीको खानेपानी लाइन बन्द गरिदिने रु’ मानवीयताका लागि युद्धकै बेला पनि अत्यावश्यक सेवा रोकिन्न तर वीपीले आफ्नै कमजोरीले बिमा रकम ढिलाइ भयो भन्दै बिरामीको उपचारै बन्द गर्छु भन्नु गैर जिम्मेवारीको पराकाष्ठा र दायित्व बाट पन्छिने व्यवहार भएको बताए ।