झापा :  झापाको हाल्दिबारी गाउँपालिका-१ गोलधाप स्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत १३ बर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 

पक्राउ पर्ने बिर्तामोड नगरपालिका-१० निवासी ५० वर्षीय  शिक्षक श्रीप्रसाद सिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। 

ती छात्रालाई शुक्रवार दिउँसो विद्यालय भित्रै शिक्षक सिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको छ । स्थानीयका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक सिवाकोटीले यौनजन्य  दुर्व्यवहार गरेका थिए । यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षक सहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन । आक्रोशित बनेका अभिभावक र छिमेकीहरू घटना बुझ्न विद्यालय पुगेका थिए । 

उनीहरूले यौनजन्य  दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय समेत घेराउ गरेका थिए । आक्रोशित भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका छन् । 

यता घटना लगत्तै प्रहरी चौकी गोलधाप र प्रहरी कार्यालय झापाका प्रहरी टोली घटनास्थल पुगेका थिए ।  घटना बुझेपछि प्रहरीले शिक्षक सिवाकोटीलाई शुक्रवार बेलुका घरबाटै पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ। पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।