धरान : मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको झडपमा एक जना महिला प्रहरी गम्भिर घाइते भएकी छिन् । 

स्थानीयका अनुसार महिला प्रहरीको मृत्यु भएको भनिए पनि आधिकारिकरुपमा पुष्टि भई नसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी नवीनराज राईले जानकारी दिए । 

गत शुक्रवार एक १४ वर्षीय बालिकालाई घरमै पुगेर एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै आज शिक्षा विकास मावि लेटाङ ५ खेरुवामा विद्यार्थी र पीडितका आफन्तले विद्यालयमा ढुंगामुढा गरेका थिए । विद्यार्थीले दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाउनुको साथै एउटा एम्बुलेन्स पनि तोडफोड प्रदर्शनकारीले गरेका छन् ।

महिला प्रहरीको घाँटीमा गम्भिर चोट लागेको बताइएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको बताइएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय लेटाङले भने केही बताउन चाहेन । घटनाको पूर्ण विवरण अझै आई नसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी नविनराज राईले बताए ।