धरान : विराटनगरको बिन्दबासिनी फुटबल क्लब पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको वराहक्षेत्र–५ स्थित भरौल खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा इलामको रेड हर्ष क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै बिन्दबासिनी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । 

बिन्दबासिनीका लागि विदेशी खेलाडी फोफनाले २ गोल गरे । यस्तै हेमन्त थापामगर, सुनिल खड्का, र अर्का विदेशी खेलाडी यानिकले एक एक गोल गरे । रेड हर्ष क्लबका रोमन भुजेल र पासाङ लामाले एक एक गोल फर्काए । 

आइतबारको खेलको म्यान अफ द म्याच बिन्दबासिनी क्लबका हेमन्त थापामगर घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । सोमबारको खेल आयोजक न्यु स्टार फुटबल क्लब भरौल सुनसरी र प्लानिड्ग ब्याइज क्लब काठमाडौँ बिच हुने आयोजकले जनाएको छ । 

प्रतियोगी तामा दुई भारतीय क्लब सहित नेपालका ८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले नगद १० हजार पाउनेछन् । यस्तै प्रत्येक खेलको म्याच अफ द म्याचले नगद ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।