धरान : सङ्घीय सांसद समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले चुनावमा गठबन्धन गर्ने नगर्ने विषय अनिवार्य नभएर ऐच्छिक हुनुपर्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सङ्केत गर्दै आवश्यकताका आधारमा चुनावी गठबन्धन हुने बताए । 
क्षेत्रीय समितिमा मनोनीत भएका कोषाध्यक्ष र सदस्यहरूलाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा प्रमाण–पत्र वितरण गरिएको कार्यक्रममा संशोधन गर्दै नेता विश्वकर्माले यस्तो बताएको हो । 
कार्यक्रममा प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठले यो र त्यो गुट नभनी सबैलाई समेटेर साथीहरूलाई समितिमा मनोनीत गरेको भन्दै क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई धन्यवाद व्यक्त गरे । उनले सबै मिलेर र जुटेर मात्र चुनाव जित्न सकिन्छ भन्दै अब पार्टी अधिवेशनको तिक्ततालाई भुलेर सङ्गठन निर्माणमा जुट्नुपर्ने बताए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले नेपाली काँग्रेसको विधान र नियमावलीको अधीनमा रही कार्यसमितिको बैठकबाट समेत सर्वसम्मत गराई कोषाध्यक्ष र सदस्यहरू मनोनीत गरिएको बताए । उनले उम्मेदवार छनौट तथा टिकट वितरण गर्नु भनेको कार्यकर्ताहरूका लागि महत्त्वपूर्ण अवसर भएकाले एउटैले पटक पटक टिकट र अवसर पाउँदा पार्टीमा त्याग र योगदान गर्नेहरूमा चरम निराशा छाउने भन्दै न्यायोचित मूल्याङ्कन गरी समान अवसर प्रदान गरिनुपर्ने बताए । क्षेत्र नं. १ को महासमिति सदस्य र प्रदेश सम्मेलन सदस्यहरू सर्वसम्मत चयन गरेर एकताको सन्देश दिइएको समेत बताए ।
जिल्ला उपसभापति नगेशचन्द्र राईले १ नं. क्षेत्रले सर्वमान्य र पारदर्शी ढङ्गले समितिलाई पूर्णता दिएको बताउँदै उच्च प्रशंसा गरे । जिल्ला सचिव माधव घिसिङले आगामी चुनावमा उम्मेदवार चयन गर्दा विशेष ध्यान दिनुपर्ने बताए । नगर प्रमुख तथा महासमिति सदस्य तिलक राईले मनोनीत हुन सफल भएका साथीहरूले पदीय गरिमा कायम राख्नुपर्ने बताए । प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठले यस क्षेत्रमा बाहिरका नेताहरूले अनावश्यक हस्तक्षेप र चलखेल गर्ने गरेको आरोप लगाए । नगर सभापति श्याम पोखरेलले मनोनीत भएका सबैलाई बधाई दिँदै सबैले सक्रिय हुने वेला आएको बताए । 
क्षेत्रीय सचिव द्वय महेन्द्र प्रधान र केशव पुरीबाट सञ्चालित उक्त कार्यक्रममा महासमिति सदस्य द्वय सुवास राई र ममता तामाङ, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई लगायतको उपस्थिति रहेको थियो।