धरान : काठमाण्डौको प्लननिंग ब्वाइज क्लब पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सुनसरीको वराहक्षेत्र ५ स्थित भरौल खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा आयोजक न्यु स्टार क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै प्लानिड्ग ब्याइज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्लानिङ ब्वाइजका मिलन राई, हरि भट्ट र प्रताप राईले एक एक गोल गरे । आयोजक क्लबका लागि मिलन राई र मनोज राईले एक एक गोल फर्काए । 

सोमबारको खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाइजका मिलन राई घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । मङ्गलवारको खेल कालिका सपोर्ट एकेडेमी चितवन र आमुक्त परिवार इन्डियाबिच हुने आयोजक न्यु स्टार फुटबल क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।  

प्रतियोगितामा दुई भारतीय क्लब सहित नेपालका ८ टिमको सहभागिता रहेको छ  । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले नगद १० हजार पाउनेछन् । यस्तै प्रत्येक खेलको म्याच अफ द म्याचले नगद ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।