धरान : हरेक वर्ष सुख्खा याममा धरान उपमहानगरपालिका वडा नं. ९ बासी खानेपानीको चरम अभावमा दैनिकी गुजार्न बाध्य हुन्थे । खानेपानीको पाइपबाट चुहिने थोपा थोपा पानी सङ्कलन गरेर भान्सा चलाउनुपर्ने अवस्था थियो । खानेपानीका लागि जार किन्नु पर्ने बाध्यता थियो । तर यस पटक धरान ९ नम्बर वडावासी खानेपानीको हाहाकारबाट अलिकति भए पनि मुक्त भएका छन् । 

धरान-९ को ५ स्थानमा अहिले ५ हजार लिटर क्षमताका खानेपानीका टङ्की राखिएका छन् । जसबाट सो क्षेत्रका वडावासीलाई खानेपानी निःशुल्क वितरण गरिन्छ । धरान उपमहानगरपालिका वडा नं. ९ को पहलमा ९ नम्बर वडाका विभिन्न पाँच स्थानमा खानेपानीको टङ्की राखेर पानी वितरण गरेपछि यति बेला वडावासीको जनजीवनमा सहजता आएको हो ।

धरान-९ चर्च लाइन टोल विकास समितिका अध्यक्ष ध्रुव खडका भन्छन् -'वडा कार्यालयको यो कार्यले धरान-९ का बासिन्दाको खानेपानी समस्या जारको पानी किन्नबाट भने मुक्त भए । ९ नम्बर वडा बजार क्षेत्र परेकोले एउटा घरमा ५ देखि ७ परिवार बस्ने गर्दछन् । यति धेरै परिवारलाई खानेपानीको चरम अभाव हुने गर्दथ्यो । खानेपानी र दैनिक प्रयोगका लागि जारको पानी खरिद गर्नुपर्ने बाध्यता थियो । ट्याङ्करको पानी किनौँ, घरको टङ्कीमा नअट्ने, जारको पानीले नपुग्ने समस्या भएको बताउँदै अध्यक्ष खड्काले भने– यस पटक वडाले खानेपानी वडावासीलाई निःशुल्क घर नजिकै टङ्की राखेर वितरण गर्न थाले पछि यो समस्या हटेको हो । 

धरानमा सुख्खा याममा एक दिन बिराएर मात्रै खानेपानी वितरण गरिन्छ । पानी वितरण भएको दिन कम्तीमा पनि ३०, ४० जनाले धारामा पानी आएन भनेर गुनासो गर्दै वडावासीले फोन गर्ने गर्दथे, तर यस पटक वडा आफैले पानी वितरण गरेपछि फोन आउन छाडेको ९ नम्बर वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए । 

आर्थिक वर्ष २०७७/०७८ मा ९ नम्बर वडाको खानेपानी समस्यालाई लिएर वडाले १५ लाख रुपैयाँ बजेट नै छुट्टायो । पछिल्लो समय धरान उपमहानगरपालिकामा आन्तरिक श्रोतको बजेट कटौती गर्दा १५ लाख बजेट १० लाख ५० हजारमा झर्‍यो । यही बजेटबाट गत चैत्र ८ गतेबाट धरान–९ को ५ स्थानबाट निःशुल्क खानेपानी वडावासीलाई वितरण गरिँदै आएको हो ।

५ हजार लिटर क्षमताको ५ वटा खानेपानीको टङ्की खरिद गर्दा र ढुवानी गर्दा करिब ३ लाख खर्च भएको र अहिले ६० पैसा प्रतिलिटरमा खानेपानी खरिद गरेर पानी वितरण भइरहेको वडाध्यक्ष कटुवालले बताए । धरान–९ को गौतम पथ, पुर्णपथ, आचार्य लाइन, विनायक पथ र चर्च लाइन गरी ५ स्थानमा ५ हजार लिटर क्षमताको खानेपानीको टङ्की राखेर वडावासीलाई निःशुल्क पानी वितरण गरिँदै आएको छ ।

जुन दिन वडामा खानेपानी बोर्डले पानी वितरण गर्छ त्यही दिन पानी टङ्कीबाट पनि पानी वितरण गर्ने गरिन्छ । एक जनालाई १ सय लिटर भन्दा बढी पानी दिइँदैन । जहाँ खानेपानीको टङ्की राखिएको छ त्यहाँ स्थानीय टोलवासी वा टोल विकास समितिका पदाधिकारीले खानेपानी वितरण र व्यवस्थापन गर्ने वडाध्यक्ष कटुवालले बताए । 

सुख्खा याममा खानेपानीको धारामा पानी पटक्कै नआउने आए पनि सानो मात्रै आउने भएकोले धरान–९ मा केही वर्ष देखि खानेपानीको चरम अभाव देखिँदै आएको थियो । सुख्खा यामको यो समस्या समाधानका लागि धरान–९ नम्बर वडाले गरेको यो कार्यप्रति वडावासीहरू पनि निक्कै खुसी छन् ।

सुख्खा याम भरी पानी खरिद गरेर ती टङ्कीहरूबाट खानेपानी वितरण गरिने वडाध्यक्ष कटुवालले बताए । वडाले गरेको यो अभियानमा अहिले सम्म धरान खानेपानी बोर्डले केही पनि सहयोग नगरेको बताइएको छ । सुख्खा याममा पानीको चरम अभावलाई धरान–९ को यो अभियानले थोरै भए पनि वडावासीको समस्यालाई सम्बोधन गरेको छ । 

9-No-Khanepani-1