धरान : स्थानीय चुनाव नजिकिएसँगै दलहरूले धरानका समस्या देख्न थालेका छन् ।

धरानमा राजनीतिक दलहरूले चुनाव जति जति नजिकिन थाल्यो त्यति त्यति खानेपानीको समस्या देख्न थालेका छन् । केही दिन अघि धरानमा खानेपानी समस्या भएको भन्दै नेकपा एमालेले धरान ८ स्थित भूमिगत पानीको पम्पिङ क्षेत्रमै गएर अनुगमन गर्‍यो । उसले खानेपानी उत्पादनमा समस्या नभई वितरण प्रणाली अवैज्ञानिक भएको निष्कर्ष निकाल्यो।

त्यसको केही दिन पछि नेकपा माओवादी केन्द्र धरान नगर कमिटीको नयाँ कार्यसमिति चयन भएसँगै सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभा हलमा पूर्ण बैठक सम्पन्न गरी धरानको खानेपानी समस्याको विषयमा सार्वजनिक धारणा बाहिर ल्यायो ।

सुकुम्वासी समस्या, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अराजकता, खानेपानी समस्या समाधान लगायत समेटेर ८ बुँदे अवधारणा पत्र नै सार्वजनिक गर्‍यो । स्थानीय निर्वाचन जति जति नजिकिँदै गएको छ त्यति त्यति धरानमा खानेपानी समस्याको मुद्दालाई राजनीतिक दलहरूले उठाउन थालेका छन् ।

अझ नेकपा माओवादी केन्द्रले त धरानका जनतालाई खानेपानी खुवाउन नसकेको भन्दै खानेपानी बोर्डबाट मेयर र उपमेयरले राजीनामा गर्न नै माग गरेको छ । धरान खानेपानी  बोर्डका सदस्य समेत रहेका धरान १७ का वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्र धरानको नव निर्वाचित अध्यक्ष सूर्यकुमार भट्टराई (मनोज)ले धरानमा खानेपानी समस्या समाधानमा मेयर र उपमेयरलाई देखाउँदै आफ्नो जिम्मेवारीबाट पन्छिएको दाबी गरे र आफू बोर्डको सदस्य भएकोले केही दिनमा राजीनामा दिने समेत बताए  ।

यसैगरी नेकपा एमालेले समेत चुनाव नजिकिँदै गर्दा धरानमा खानेपानी समस्या देख्न थालेको छ । विगतमा खानेपानी ल्याउन जोडदार पहल गर्ने दलीय संयन्त्रमै रहेका राजनीतिक दलहरू अरू बेला धरानको खानेपानी समस्या समाधानका विषमा चुपचाप रहे पनि अहिले आएर भने समस्या देख्न थालेका छन् । 

नेकपा एमालेले धरानका टोल टोलमा कमिटी गठन गर्ने क्रममा हरेक टोलले खानेपानी धारामा नआएको गुनासो पोख्न थालेपछि मात्र नेकपा एकालेले धरानमा खानेपानी समस्या देखेको हो । टोल टोलमा चुनावी अभियानमा पुग्दा नेकपा एमालेलाई खानेपानी समस्या भएको थाहा पाए पछि केही दिन अघि धरान-८ स्थित भूमिगत पानीको  पम्पिङ साइडमै गएर अनुगमन गरेको छ । अनुगमन पछि नेकपा एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदीले भूमिगत खानेपानी प्रश्वस्त उत्पादन भएको तर वितरण प्रणालीमा समस्या रहेको बताए । 

सन् २०१२ मा नेपाल सरकारको सहरी विकास आयोजना अन्तर्गत २०३१ सम्म धरानेहरुलाई पर्याप्त खानेपानी खुवाउने उद्देश्य सहित आएको (एसियाली विकास बैक-एडिवी) को २ अर्ब १६ करोडको परियोजना मेयर अध्यक्ष रहने गरी धरान खानेपानी बोर्ड बनिसक्दा पनि परियोजनाले लक्ष्य अनुरूप पानी उत्पादन गर्न नसक्दा धरानको अवस्था झन् भया बन्दै गएको छ । 

परियोजनाले भूमिगत स्रोतबाट मात्र प्रतिदिन १ करोड ५२ लाख लिटर उत्पादन गर्ने र जलाधार क्षेत्रबाट ४० हजार लिटर गरी १ करोड ९२ लाख लिटर पानी उत्पादन भनेता पनि त्यो समेत उत्पादन हुन नसक्दा आएको परियोजनामा व्यापक अनियमितता छ भन्ने आशङ्का सर्वसाधारणमा उब्जिन थालेको छ ।

अहिले धरानमा वास्तवमै खानेपानीको चरम हाहाकार छ । खानेपानी दिन बिराएर वितरण गरिए पनि खानेपानीको धारामा पानी आउँदैन । यसैलाई अहिले धरानका राजनीतिक दलहरूले मुख्य एजेन्डा बनाएर राजनीति गर्न फेरि थालेका छन् । 

काठमाण्डौमा मेलम्ची आयोजना र धरानमा आयुडिपी परियोजना खानेपानीको मुख्य मुद्दा राजनीतिक दलहरूको सधैँ जनतालाई ढाँट्ने मुद्दा भइरहेको धरानका राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्मा बताउँछन् । 

राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा के कुराको समस्या छ त्यसैलाई राजनीतिक मुद्दा बनाएर चुनावमा अघि बढ्दै आएका छन् । यही क्रममा फेरि पनि धरानमा पानी राजनीति सुरु भएको छ । विगतका चुनावमा झैँ यो पटकको चुनावी घोषणा पत्रमा पानीको मुद्दा धरानमा पक्कै बन्ने छ र बनाउन थालिएको छ ।

Khanepani