धरान : आमुक्त परिवार इन्डियालाई टाइब्रेकरमा हराउँदै कालिका स्पोर्ट्स क्लब चितवन पाँचौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको चौधौँ  खेलमा आमुक्त परिवार इन्डिया र कालिका स्पोर्ट्स क्लब चितवन बिच भएको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा आमुक्त परिवार इन्डिया लाई २–३ को अन्तर कालिका स्पोर्ट्स क्लब चितवनले पाँचौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलको यात्रा तय गरेको हो ।

निकै रोमाञ्चक भएको खेलको पहिलो हाफ सम्म दुवै टिमबाट गोल रहित भए पनि दोस्रो हाफको खेलमा ३० मिनेटमा आमुक्त परिवार इन्डियाका खेलाडी देवाशिस  राईले गोल गर्दै पहिलो खाता खोलेका थिए ।  

खेलको ४० मिनेटमा कालिका स्पोर्ट्स क्लब चितवनका रूपबहादुर लामाले गोल फर्काउँदै खेल बराबर बनाएका थिए । दुवै टिमबाट गोल गर्ने निकै प्रयास भए पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा कालिका स्पोर्ट्स क्लब चितवनका रूपबहादुर लामा, राजेन्द्र रावल र विदेशी खेलाडी ग्लोरीले गोल गरेका थिए भने अर्का विदेश खेलाडी  जोन जुनियर र  विदेशी खेलाडी यामीले गोल गर्न सकेनन् ।

आमुक्त परिवार इन्डियाबाट गोल गर्ने बिजु भुजेल, बिकी साइब्दोले गोल गरे भने सुनिल मगरी ,सौरभ तामाङ ,सोनाम लेप्चाले गोल गर्न चुकाउँदा खेलमा हार खेप्नुपरेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका कालिका स्पोर्ट्स क्लबका  गोलरक्षक खेलको म्यान अफ दि म्याच समेत  घोषित भए । उनले पाँच हजार नगद हात पारे । 

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख दोस्रो पुरस्कार १ लाख ५० हजार सहित ट्रफी मेडल पाउनेछन् । भोलिको पहिलो सेमिफाइनल खेल राजारानी फुटबल क्लब धनकुटा र प्लानिङ ब्वाइज काठमान्डौ बिच खेल हुने आयोजक न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले बताए ।