धरान : पाँचौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको बुधवार भएको पहिलो सेमिफाइनल खेलमा राजारानी धनकुटालाई हराउँदै प्लानिङ ब्वाइज काठमाडौँ फाईनलमा प्रवेश गरेको छ ।

राजारानी फुटबल क्लब धनकुटालाई ०-२ गोलले हराउँदै प्लानिङ ब्वाइज काठमाडौँले फाइनलको यात्रा तय गरेको हो । पहिलो हाफको ९ मिनेटमा प्लानिङ ब्वाइज काठमाडौँका ओम प्रकाश चौधरीले पहिलो गोल गर्दै खेलको खाता खेलेका थिए । निकै रोमाञ्चक भएको खेलको पहिलो हाफ सम्म १–० को अन्तरले प्लानिङ ब्वाइज काठमाडौँले अग्रता लिएको थियो ।

राजारानी फुटबल क्लबले  गोल गर्न अवसरलाई चुकाउँदा हार खेप्नुपर्‍यो । प्लानिङ ब्वाइज काठमाडौँले गोल गर्न निकै पटक प्रहार गरे पनि राजारानीको गोलरक्षकले जोगाएका थिए । खेलको अतिरिक्त समयमा प्लानिङ ब्वाइज काठमाडौँका सुमन लामाले गोल गर्दै सुन्यको विरुद्ध २ गोल गर्दै पाँचौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको फाइनलको यात्रा सुरक्षित गरेको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्लानिङ ब्वाइज काठमाडौँका खेलाडी दिनेश राजवंशी खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई सिद्धार्थ मेमोरियल इङलिस स्कुलका प्रिन्सिपल कृष्ण तामाङ र समाजसेवी केशव मैनालीले संयुक्त रूपमा  पाँच हजार नगद हस्तान्तरण गरे ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख दोस्रो पुरस्कार १ लाख ५० हजार सहित ट्रफी मेडल पाउनेछन् । भने बिहीबारको अन्तिम  सेमिफाइनल खेल कालिका स्पोर्ट्स फुटबल क्लब चितवन र बिन्दाबसिनी फुटबल क्लब विराटनगर   बिच हुनेछ ।