धरान : पाँचौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको बिहीबार भएको अन्तिम  सेमिफाइनल खेलमा बिन्दाबासिनी फुटबल क्लब विराटनगरलाई हराउँदै कालिका स्पोर्ट्स क्लब चितवन  फाईनलमा प्रवेश गरेको छ ।

बिन्दाबासिनी  फुटबल क्लब विराटनगरलाई ३–४ गोलले हराउँदै कालिका स्पोर्ट्स क्लब चितवनले फाइनलको यात्रा तय गरेको हो । 

पहिलो हाफको ९ मिनेटमा कालिका स्पोर्ट्स क्लबका बिदेशी खेलाडी ग्लोरीले पहिलो गोल गर्दै खेलको खाता खेलेका थिए । भने खेलको ३२ मिनेटमा बिन्दाबासिनी फुटबल क्लबका बिदेशी खेलाडी फोटोनले गोल गर्दै खेल लाई बराबरी बनाएका थिए । निकै रोमाञ्चक भएको खेलमा पहिलो हाफ सम्म दुवै टिमबाट १–१ गोल गर्दै खेल बराबरमा कायम थियो ।

दोस्रो हाफको १ मिनेटमा बिन्दाबासिनि फुटबल क्लबका सुनिल खड्काले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट पछि  पुनः बिन्दाबासिनी क्लबका शिशिर राईले गोल गर्दै खेललाई आफ्नो कब्जामा लिएका थिए । 

कालिका स्पोर्ट्स चितवनका हरि कार्कीले खेलको दोस्रो हाफको ८ मिनेटमा गोल गरेका थिए  । २८ औँ मिनेटमा कालिका स्पोर्ट्स क्लबका खेलाडी रूप बहादुर लामाले गोल गर्दै खेल फेरि बराबरमा पुराएका थिए ।

दुवै टिममा  ए डिभिजनका खेलाडीले भरिभराउ रहेको खेलमा निकै  प्रतिस्पर्धा भएको थियो । दोस्रो हाफको ३२ मिनेटमा कालिका स्पोर्ट्स क्लबका हरि कार्कीले थप गोल गर्दै कालिका स्पोर्ट्स क्लब चितवन फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका  कालिका स्पोर्ट्स क्लब चितवनका  खेलाडी हरि कार्की   खेलको म्यान अफ दि म्याच समेत  घोषित भए । उनलाई विनायक कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन भट्टराईले पाँच हजार नगद हस्तान्तरण गरे ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख दोस्रो पुरस्कार १ लाख ५० हजार सहित ट्रफी मेडल पाउनेछन् । चैत १९ गते शनिवार हुने फाइनल खेलमा कालिका स्पोर्ट्स चितवन र प्लानिङ ब्वाइज काठमाडौँ उपाधिका लागि भिड्नेछन् ।