विराटनगर : विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान मृत भेटिएका छन् । 

सप्तरीको विष्णुपुर गाउँपालिका-१ घर भएका अन्दाजी २७ वर्षीय यादव नोबेल अस्पतालको हाड जोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । उनी विगत ४ वर्षदेखि विराटनगर-४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर डेरा बस्दै आएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको हो । दाहालका अनुसार आफू बस्ने कोठाबाट मुनिको भुईँमा घोप्टो परिरहेको अवस्थामा यादवको शव देखेपछि स्थानीयले बिहान ७ बजेतिर प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका हुन् । 

चिकित्सक मृत फेला परेको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ । शव भने अहिलेसम्म घटनास्थलमै छ । घटनास्थलमा भेला भएका आफन्तले घटना शङ्कास्पद रहेको भन्दै गम्भीर ढङ्गले अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउन माग गरेका छन् । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार डेरा बसेको घरको कम्पाउन्डभित्र चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरेको छ । घटनास्थलमा रहेको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको उनले बताए । चिकित्सकको मृत्युको कारण खुल्न बाँकी रहेको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी श्रेष्ठले दिएका छन् । 

प्रहरीले भने डेरा बसेको घरको दोस्रो तलाबाट हाम फालेर डा. यादवले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । पुष्टि भने बाँकी छ । यद्यपि घटनाको यकिन गर्न विभिन्न कोणबाट अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । 

अस्पतालका प्रबन्धक दाहालका अनुसार डा. यादव ४ वर्षअघिदेखि नोबेलमा कार्यरत थिए । नोबेलले शुक्रवार मोरङको कटहरिमा आयोजना गरेको स्वास्थ्य शिविर सञ्चालनका लागि उनी पनि पुगेको दाहालले बताए । उनका अनुसार शिविरबाट फर्किएर आफ्नो डेरातर्फ लागेका चिकित्सकलाई मृत अवस्थामा फेला पारिएको जानकारी आएको हो । 

दाहालले डा. यादव राम्रा, अनुभवी र दक्ष चिकित्सक भएको बताए । ‘डा. यादवको सक्रियतामा नोबेलमा हाड जोर्नी सम्बन्धी ठुलाठुला शल्यक्रिया भएका थिए । उनले भने, ‘मृत्युको खबरले हामी पनि आश्चर्यमा परिरहेका छौँ ।’ दाहालले चिकित्सकको मृत्यु भएको घटनाको अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउनुपर्ने माग अस्पतालले गरेको बताए ।