धरान : विभागीय टिम त्रिभुवन आर्मी क्लबले बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

इटहरी रङ्गशालामा शनिवार भएको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो। आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे बुढाथोकीले २९ औँ मिनेटमा र खवासले ४० औ मिनेटमा गोल गरे ।

आयोजकका तर्फबाट विजय भुजेलले ६९ औँ मिनेटमा १ गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका भरत खवास घोषित हुँदै नगद १० हजार हात पारे । भोलिको खेल 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी र कञ्चनजंगा फुटबल क्लब भारत बिच हुनेछ ।

चैत्र २६ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशी सहित ८ टिम सहभागी छन् । कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले ७ लाख पाउनेछन् भने उपविजेताले ३ लाख ५० हजार पाउनेछ ।