विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशीघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् ।

अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरीको मलेखपुर-६ खुरखुरीया घर भएका डा. विजय कुमार यादवको शव विराटनगर-४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शङ्कास्पद रूपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशीघ्र अनुसन्धान भई सत्य, तथ्य पत्ता लगाउन जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ । उनी लगनशील र मिलनसार स्वभावका भएको स्मरण गर्दै उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ ।

डा.यादव विराटनगर-४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए । शनिवार बिहान करिब ६ बजे सोही घरको कम्पाउन्डभित्र आँगनमा घोप्टो परेर लडेको र शरीरबाट रगत बगिरहेको अवस्थामा उनी मृत भेटिएका थिए ।

डा.यादवको हत्या भएको भन्दै उनका परिवारका सदस्य, आफन्त तथा समर्थकले शनिवार दिउँसो नोबेल अस्पताल अगाडि हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए । 

Dr.-Mirtu-prakaran-1Dr.-Mirtu-prakaran-Bigyapti