धरान : केही दिन देखि पेट्रोलियम पदार्थको अभाव खेपीरहेका उपभोक्ताहरूले आज देखि सहजरुपमा पेट्रोल पाउने भएका छन् । 

केही दिन अघि व्यावसायीहरुको आन्दोलनका कारण पेट्रोल आपूर्ति नहुँदा पेट्रोल अभाव देखिएको थियो । तर आज भारतको सिलगुढी डिपोबाट २० ट्याङ्कर र बरौनी डिपोबाट ५ ट्याङ्कर पेट्रोल आएकोले आज देखि पेट्रोल सहजै उपभोक्ताले पाउने नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रवक्ता दिवस विष्टले जानकारी दिए । 

नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले प्रदेश १ र २ गरी जम्मा १० वटा जिल्लामा पेट्रोल आपूर्ति गर्दै आएकोमा आज विराटनगरबाट ५ केएल अर्थात् ५ लाख लिटर बढी पेट्रोल पम्पहरूमा पठाउदैछ । यसैगरी निगमको चारआलीबाट पनि ४ जिल्लामा पेट्रोल पठाउने भएकोले आज साँझ सम्ममा सबै पेट्रोल पम्पहरूमा पेट्रोल अनलोड हुने र भोलि देखि उपभोक्ताले सहजरुपमा पाउने प्रवक्ता विष्टले दाबी गरे । 

प्रदेश १ मा व्यावसायीहरुले एक दिन मात्रै बन्द गरेका थिए तर बजारमा पेट्रोल यति विघ्न अभाव नहुनुपर्ने भन्दै प्रवक्ता विष्टले भने, उपभोक्ताले अगाडी नै तेल खरिद गरेर स्टक राखेपछि बजारमा तेलको चरम अभाव देखिएको हो । अव बजारमा सहजरुपमा पेट्रोल आपूर्ति हुने बताउँदै उनले भने -'अति प्रज्वलनशील वस्तु घरमा स्टक गरेर नराख्न आग्रह गर्दछु । यसबाट ठुलो दुर्घटनाको जोखिम पनि हुन सक्छ।'

धरानमा आज ५० हजार लिटर पेट्रोल आउँदै 

धरानमा हिजो ३२ हजार लिटर पेट्रोल आयत भएकोमा आधा दिन पनि थामेन । निकै लामो उपभोक्ताको लाइन बिहान ६ बजे बाट लागेको थियो । बिहान ६ बजेबाट वितरण सुरु गरेको पेट्रोल दिउसो मध्यान्ह सम्म पनि धरानको मुख्य बजारका पम्पहरूले थेग्न सकेनन् । 

आज भने धरानमा ५० हजार लिटर पेट्रोल आउने र उपभोक्तालाई सहज हुने नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य गोपाल श्रेष्ठले बताए । उनका अनुसार आजै नभए पनि भोलि देखि धरानमा पेट्रोल सहजरुपमा पाइनेछ ।