इटहरी : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सोमबार इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । सामान्य भेटघाटमा पनि इटहरी आइरहने उनले गठबन्धनको तर्फबाट नेकपा एसले इटहरीको मेयर पाउनुपर्ने दबाब बढाउँदै गएका छन् ।  
कार्तिक २६ गते चतराको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दा पनि उनले इटहरी छुटाएनन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको घरमा खाना खान पुगे । भर्खरै विभाजन भएको पार्टीका अध्यक्षलाई खाना खुवाएको भन्दै द्वारिकलालको एमाले वृत्तमा आलोचना भयो । 
मङ्सिर २१ गते पार्टीको प्रदेश १ स्तरीय कार्यकर्ता प्रशिक्षणमा पनि इटहरी पुगेका थिए । त्यसको एक साता पछि मङ्सिर २८ गते पुन इटहरी पुगे । इटहरी १७ लबीपुरमा जग्गा धनीलाई थाहै नदिई आँखा अस्पताल भवनको शिलान्यास गरे। 
पुस १८ गते आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्न इटहरी पुगेका थिए । एमालेका पूर्व केन्द्रीय सदस्य धर्मराज निरौला लगायत एमाले कार्यकर्तालाई उनले स्वागत गरे । 
बारम्बार इटहरीलाई केन्द्रित बनाएका उनले गठबन्धनको तर्फबाट इटहरीको मेयर आफूले पाउनुपर्ने लबिङ गरेका छन् । सोमबार वृहत् भेला गरेर उनले नेकपा एसको बलियो पकड देखाउन खोजेका छन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव कुमार बिष्टको अगुवाइमा इटहरीमा सङ्गठन विस्तार कार्य अगाडी बढेको छ । 
गठबन्धनको तर्फबाट उनै विष्टलाई उम्मेदवार बनाउने अध्यक्ष नेपालको तयारी छ। स्थानीयस्तरमा खासै पकड नभएका विष्ट पछिल्लो समय राजनीतिमा सक्रिय छन् । नेकपा एमालेमा हुँदा पनि केन्द्रको पहुँचको आधारमा टिकेका उनलाई नेकपा एसले उम्मेदवार बनाउने तयारी गरेको छ। 
बिष्टको विकल्पमा हालका मेयर द्वारिकलाल चौधरीलाई पार्टी प्रवेश गराएर टिकट दिने नेकपा एसको रणनीति छ। चौधरीसँग केही थारु मत रहेपनि र विष्टको खासै व्यक्तिगत प्रभाव देखिँदैन । तर काँग्रेस माओवादी सहितका दलको मतले विजयी गराउन सकिने नेकपा एसको बुझाई छ । त्यही रणनीति बमोजिम अध्यक्ष नेपालले इटहरीलाई केन्द्रमा राखेर काम अगाडी बढाएका छन् । 
उता नेपाली काँग्रेसले भने नेकपा एसको पक्षमा कुनै हालतमा सहमति नहुने बताएको छ । गत शनिवार ५ दलीय गठबन्धनमा आबद्ध स्थानीय नेताहरूको छलफलमा वडास्तरमा मात्र भाग दिन सकिने काँग्रेसले धारणा राख्यो । बाँकी दलहरूले पनि काँग्रेसकै नेतृत्वमा स्थानीय चुनावमा गए विजयी हुन सकिने बताएका थिए । 
तर नेकपा एसका नेताहरू भने मेयर मात्र भए पनि दिनुपर्ने लाइनमा छन् । बिष्टलाई गठबन्धनको उम्मेदवार बनाउने नेकपा एसको तयारीले इटहरीमा चर्चा बढाएको छ । आफ्नो प्रभाव देखाउने तयारी अनुसार नै सोमबार विष्टले इटहरीमा वृहत् पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको देखिन्छ । 
गठबन्धनबाट नेकपा एसको उमेद्धवारीले नेकपा एमालेलाई फाइदा पुग्ने प्रष्ट छ । इटहरीका नेकपा एसको खासै प्रभाव नभएकाले एमाले सहज जितको लागी तयार देखिन्छ । लामो समयदेखि एमालेको पकड रहेको इटहरीमा यस पटक काँग्रेस विजयी हुने चर्चा भइरहेको बेला गठबन्धनले एमालेलाई फाइदा पुर्याउने निश्चित छ । गठबन्धनको उम्मेदवारी नेकपा एसको भागमा परे काँग्रेसका युवा नेताहरू स्वतन्त्र उम्मेदवारी दिने पक्षमा छन् । 
स्थानीय स्तरमा पकड नभएको नेकपा एस नयाँ मतदाता सम्म पुग्न सकेको छैन भने पुराना मतदाताको विश्वास लिन सकेको छैन । काँग्रेस र एमाले टोल कमिटी देखी बलियो बन्दै आएको बेला नेकपा एस भर्खरै पार्टी कमिटी विस्तारमा लागेको छ। 
२०७४ को स्थानीय तह निर्वाचनमा ७७ हजार ६९७ मतदाता रहेको इटहरीमा यस पटक १ लाख ४ हजार ६ सय २६ मतदाता छन् । २८ हजार नयाँ मतदाताले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। 
२०७४ मा एमाले र काँग्रेस बिच ३ हजार हाराहारीको मात्र मतान्तर देखिएको अवस्थामा अहिले एमाले पार्टी विभाजन र जनप्रतिनिधिको व्यवहारले केही कमजोर बनेको छ । तथापि काँग्रेस बिचको एकता र गठबन्धनले सही उम्मेदवार दिन नसके पुनः इटहरीमा एमालेको किल्ला कायम रहनेछ ।
nekapa-S-keshav