इटहरी : सुनसरीमा जारी बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । इटहरी रङ्गशालामा आज मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा फुटबल क्लब मोरङले न्युरोड टिम एनआरटीलाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।  सगरमाथाको जित सँगै सेमिफाइनल समीकरण पनि पुरा भएको हो ।
सगरमाथा क्लबसँग ३-० को फराकिलो हार बेहोरेसँगै सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थान हासिल गर्न सफल एनआरटी क्वाटरफाइनल खेलबाटै बाहिरिएको छ । एनआरटी विरुद्ध सहज जित निकालेको सगरमाथा फुटबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सगरमाथाले फाइनल प्रवेशका लागि पर्सी बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । त्यसअघि भोलि बुधवारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब र रोलिङ क्लब झापा बिच हुनेछ ।
इटहरी रङ्गशालामा आज मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा तेस्रो मिनेटमै आवास लामिछानेको गोलबाट सगरमाथाले अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको सगरमाथाले दोस्रो हाफमा थप दुई गोल थपेको थियो ।
दोस्रो हाफको २५ औ मिनेटमा प्रदीप लामाले एक गोल गरी खेललाई २-० को स्थितिमा पुर्‍याएका थिए । त्यसको चार मिनेटमै पुन आवास लामिछानेले एक गोल गरेपछि सगरमाथाले ३-० को फराकिलो जित दर्ता गराउन सफल भएको हो।
आजको खेलको म्यान अफ द म्याच दुई गोल गर्न सफल सगरमाथा क्लबका आवास लामिछाने घोषित हुँदै नगद १० हजार पुरस्कार पाए। चैत्र २६ गते हुने फाइनल खेलेको विजेताले ७ लाख पाउनेछन् भने उपविजेताले ३ लाख ५० हजार पाउनेछ।