धरान : उदयपुरको बेलकामा मंगलबार ट्युसन पढन हिँडेकी बालिकाको हत्याको मुख्य योजनाकार र सहयोगीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधवार सार्वजनिक गरेको छ ।  

बेलका नगरपालिका-६ किराँत चौककी १६ वर्षिया कविता सुनुवारको हत्या आरोपितलाई  बुधवार सार्वजनिक गरिएको हो। प्रहरीले पत्रकार सम्मेलन गरी अहिले सम्मको अनुसन्धानबाट देखिएको हत्यामा संलग्न दुई जना आरोपितलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न दुई जना बेलका-३ बस्ने १९ वर्षीय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाललाई सार्वजनिक गरेको हो ।

एक वर्षदेखि बहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम वियुङ भएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ पर्ने किशोरी नावालिका रहेकोले दाजु विनोदलाई मात्र पत्रकार सम्मेलनमा उपस्थित गराएको थियो । हालसम्मको अनुसन्धानले हत्यामा ती दुई जना मात्र संलग्न देखिएको प्रहरीले जनाएको छ ।

मङ्गलवार बिहान ट्युसन पढ्न जाँदै गर्दा किशोरी कवितालाई हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए । हत्या गर्नुको कारण प्रतिशोध रहेको बुझिएको एसपी बोहोराले बताए । मृतक कविता र हत्या गर्ने सरिता मिल्ने साथी हुन् । उनीहरू दुबै जना स्थानीय कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् । 

पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतकका पिता कृष्ण सुनुवारको किटानी जाहेरीपछि कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ ।