धरान : नेपाली काँग्रेसले टोल टोलमा सङ्गठन विस्तार गर्ने अभियानका क्रममा धरान उपमहानगरपालिका वडा नं. १५ को भानुमार्ग लक्ष्मी टोलमा  अर्जुन सुब्बाको संयोजकत्वमा टोल कमिटी गठन सम्पन्न भएको छ।
धरान-१५ का नेपाली काँग्रेस वडा सभापति डम्बर गुरुङको अध्यक्षता तथा नेपाली काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले ३० सदस्यीय टोल कमिटी गठन गरेको हो। टोलकमिटी गठन कार्यक्रममा पार्टीका जिल्ला सचिव माधव घिसिङ, क्षेत्र नं. १ 'क' का सचिव युवराज शङ्कर, तरुण दलका धरान नगर सभापति नरसिंह राई, क्षेत्रीय प्रतिनिधि तथा वडा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। 
कार्यक्रममा प्रमुख अतिथि थापाले स्थानीय तहको निर्वाचनमा टोल कमिटीको भूमिका महत्त्वपूर्ण हुने बताए। टोल समितिमा युवा र महिलाको उपस्थिति बढेकाले अब काँग्रेसको विजय निश्चित देखिएको उनको भनाई छ। टोल टोलमा काँग्रेसको माहौल धेरै सकारात्मक भएको भन्दै उनले नेपाली काँग्रेसको पक्षमा जनमत आउने बताए।  पार्टीका जिल्ला सचिव माधव घिसिङ, क्षेत्र नं. १ 'क' का सचिव युवराज शङ्कर, तरुण दलका धरान नगरसभापति नरसिंह राईले टोल कमिटीका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरे । 
वडा सभापति डम्बर गुरुङको अध्यक्षमा भएको टोल कमिटी गठन कार्यक्रममा विभिन्न पाटी परित्याग गरी किरण लिम्बूको संयोजकमा ४५ जना युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। काँग्रेसमा प्रवेश गरेका जुझारु युवाहरूलाई महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, क्षेत्र नं. १ क का सचिव युवराज शङ्कर, तरुण दलका धरान नगर सभापति नरसिंह राईले अबिर तथा खाँदा लगाएर स्वागत गरेका थिए 
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पाटीको उमेद्ववारलाई विजय गराउन भानु मार्ग लक्ष्मी टोल कमिटी पूर्ण क्रियाशील भएर लाग्ने टोल कमिटीका सचिव विशाल थापाले बताए ।