इटहरी : बलात्कार आरोपबाट थुनामुक्त भएका भोक्राह नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले यादवलाई एमाले प्रवेश गराएका हुन् । 
धरान १३ स्थित डुकु होटेल एण्ड लजको कोठामा युवतीलाई बलात्कार गरेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको थियो । २०७८ वैशाख ८ गते पक्राउ परेका उनी मङ्सिर २६ गते आइतबार ८ महिना पछि थुनामुक्त भएका थिए । अध्यक्ष यादवले काममा लगाई दिन्छु भन्दै होटेलमा लगेर खाजा खुवाउने बहानामा जबरजस्ती करणी गरेको युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
यसअघि सङ्घीय समाजवादी फोरमबाट यादव  गाँउपालीकाको अध्यक्षमा निर्वाचित भएका हुन् । हालको जनता समाजवादी पार्टीका प्रभावशाली नेता मानिएका उनी एमाले प्रवेश गरेर पुनः अध्यक्ष बन्ने लाइनमा छन् । 
पार्टी प्रवेश गराएपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले गरिब र मधेसी जनताको पार्टी भएको बताए । गठबन्धन सरकारको व्यवस्थापकीय क्षमता कमजोर भएका कारण अर्थतन्त्र धरापमा परेको उनको भनाई छ । 
उता पार्टी प्रवेश गरेसँगै यादवले एमाले भविष्य बोकेको पार्टी भएको बताए । विभिन्न जाती जनजातिको प्रतिनिधित्व गराउन सक्ने पार्टी एमाले भएका भन्दै उनले पार्टी प्रवेश स्वाभाविक भएको प्रतिक्रिया दिए ।