धरान : नेकपा एमाले धरानले मेयर र उपमेयरको उम्मेदवारको नाम सिफारिस गरिसके पनि वडाका उम्मेदवारहरूको नाम सिफारिस गर्न अझै सकेको छैन । 

अहिले सम्म धरानका २० वटा वडा मध्येमा अझै ९ वटा वडामा उम्मेदवारको नाम सहमतिबाट छनौट हुनसकेको छैन। सबैलाई सर्वसम्मतरुपमा छनौट गरेर मात्रै उम्मेदवारको नाम सिफारिस गर्ने भन्दै नेकपा एमाले धरान उपमहानगर कमिटीले सहमतिका लागि छलफल जारी राखेको छ । आज सम्ममा सहमति भयो भने सर्वसम्मत गर्ने प्रयास गर्ने नभए भोलि सम्ममा सर्वसम्मत नहुने उम्मेदवारका आकाङ्क्षीहरुको नाम समेत गरेर सिफारिस गर्ने नेकपा एमाले धरान उपमहानगर इन्चार्ज नारायण सुबेदीले बताए ।

अहिले सम्म धरान-१ मा वडाध्यक्षमा भरत सुबेदीको नाममा सहमति भएको छ भने बाँकी सदस्यहरूमा सहमति हुन सकेको छैन । धरान-२ मा सर्वसम्मत सहमति भएको छ । जसमा अध्यक्षमा रमेश राई, खुल्ला सदस्यमा समीर राई र सुरेन्द्र बज्राचार्य, महिला सदस्यमा ममता पौडेल र दलित महिला सदस्यमा रेनुका ल्वागुनको नाममा सहमति भएको छ ।

यसैगरी धरान-५ मा अध्यक्षमा मानप्रसाद लिम्बु, खुल्ला सदस्यमा प्रेम दाहाल र नारायण लिम्बु, महिला सदस्यमा सुनिता राई र दलित महिला सदस्यमा शान्तामाया विश्वकर्मा, धरान-६ मा अध्यक्षमा हरीबहादुर राई, खुल्ला सदस्यमा नारायण निरौला र राजेन्द्र न्यौपाने, महिला सदस्यमा यशोदा सुबेदी लामिछाने र दलित महिला सदस्यमा देवीमाया विक, धरान-७ मा बहालवाला वडाध्यक्ष जीवनराज सुबेदी नै अध्यक्षमा सहमति भएको छ भने खुल्ला सदस्य तर्फ राजेश मोक्तान र विमला श्रेष्ठ, महिला सदस्यमा मनु मोक्तान र दलित महिला सदस्यमा जे कुमारी विश्वकर्माको नाममा सहमति भएको नेकपा एमाले धरान उपमहानगर कमिटी सचिव सुदेश चापागाईँले जानकारी दिएका छन् ।

धरान-९ मा अध्यक्षमा शिवकुमार राई, खुल्ला सदस्यमा उत्सव कटुवाल र मनोजकुमार राई, महिला सदस्यमा सविना शाक्य र दलित महिला सदस्यमा ऋचा शङ्करको नाममा सहमति भएको छ । धरान-१२ मा अध्यक्षमा टेकबहादुर राई खुल्ला सदस्यमा ब्रम्हाज्ञ भट्टराईको नाम मात्रै आएको र बाँकी सदस्यहरूको टुङ्गो लागि नसकेको बताइएको छ ।

यसैगरी धरान-१३ मा अध्यक्षमा हाल बहालवाला अध्यक्ष नेत्रप्रसाद काफ्ले, खुल्ला सदस्यमा तारा तामाङ गोले र सन्तोष राई, महिला सदस्यमा सुन्दरी राई, दलित महिला सदस्यमा उर्मिला परियारको नाममा सहमति भएको छ । धरान-१४ मा अध्यक्षमा उत्तम आले, खुल्ला सदस्यमा नन्दलाल गेलाल र होमबहादुर श्रेष्ठ, महिला सदस्यमा झरना पौडेल मुखिया र दलित महिला सदस्यमा दुर्गा विश्वकर्माको नाममा सहमति भएको छ । 

धरान-१८ मा अध्यक्षमा ऋषिराज राई, खुल्ला सदस्यमा खेमराज राई, महिला सदस्यमा सीता राना राई र दलित महिला सदस्यमा कविता विश्वकर्माको नाममा सहमति भएको छ । धरान–१९ मा बहालवाला अध्यक्ष पूर्णबहादुर लिम्बु अध्यक्षमा, खुल्ला सदस्यमा दशरथ सुब्बा र लोकेन्द्र राई महिला सदस्यमा झुमा देवी गुरुङ र दलित महिला सदस्यमा चन्द्रमाया विश्वकर्माको नाममा सहमति भएको सचिव चापागाईँले बताए । 

कुन-कुन वडामा धेरै भए आकाङ्क्षी  ? 

धरानका २० वडा मध्ये ९ वटा वडामा अझै वडाका उम्मेदवारहरूको नाम सिफारिसको सम्वन्धमा सहमति हुन सकेको छैन । 

यसो हुनुको मुख्य कारण आकंक्षी धेरै हुनु र पार्टीले सर्वसम्मत गर्ने प्रयास गर्दा नाम सिफारिस पठाउन ढिलो भएको हो। धरान-१ मा वडाध्यक्षमा सहमति भए पनि बाँकी सदस्यहरूमा आकाङ्क्षी बढी छन् । धरान–३ मा हाल बहालवाला वडाध्यक्ष सहित ३ जना अध्यक्षमा आकाङ्क्षी देखिएका छन् । धरान-४ मा पनि ३ जना अध्यक्षमा आकाङ्क्षी देखिएका छन् । धरान-८ मा पनि २ जना अध्यक्षमा आकाङ्क्षी देखिएका छन् । यस्तै धरान-१० मा २ जना अध्यक्षमा आकाङ्क्षी, धरान-११ मा वर्तमान वडाध्यक्ष सहित ३ जना अध्यक्षमा आकाङ्क्षी देखिएका छन् ।

धरान-१५ मा वडाध्यक्षका लागि सबै भन्दा धेरै आकाङ्क्षी देखिएका छन् । अध्यक्षमा वर्तमान बहालवाला अध्यक्ष सहित ५ जना आकाङ्क्षी देखिएका छन् । धरान-१६ मा अध्यक्षमा २ जना र धरान–१७ मा अध्यक्षमा ३ जना आकाङ्क्षी देखिएका छन् । 

उम्मेदवारका आकाङ्क्षी धेरै भएकोले वडाका उम्मेदवारहरूको नाम सिफारिस अझै सम्म नेकपा एमालेले गर्न नसकेको जनाएको छ । आज दिनभरि छलफल र बहस गर्ने र पनि सहमति भएन भने आकाङ्क्षी सबैको नाम सिफारिस गर्ने नेकपा एमाले धरान उपमहानगर कमिटीले तयारी गरेको छ ।