धरान : स्थानीय तहको निर्वाचन नजिकएसंगै धरानमा चुनावी सरगर्मी पनि बढ्दै गएको छ। कुन दलले कसको नेतृत्वमा निर्वाचनमा सहभागी हुने भन्ने बारेमा सर्वसाधारणमा चासो बढ्न थालेको छ। राजनीतिक दलहरू पनि आ-आफ्नो बलियो उम्मेदवार को हुने ? भन्ने बारेमा बहस र पैरवीमा लागिपरेका छन् । 

धरानको राजनीतिक वृत्तलाई हेर्ने हो भने धरान वामपन्थीको गढ मानिएको थियो । तर यसभन्दा अघिको उपनिर्वाचनमा धरानमा नेपाली काँग्रेसका मेयरका उम्मेदवार तिलक राई विजयी भएका थिए । एमालेका प्रकाश राई निकै मतान्तरका साथ पराजित भएका थिए ।  वामपन्थीको गढ मानिएको धरानमा काँग्रेसले मेयरमा विजयी हासिल गर्न सफल भयो । 

आगामी वैशाख ३० गने हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यति बेला धरानका वामपन्थीहरू फेरि आफ्नो साख फर्काउन लागि परेका छन् । पाँच दलीय गठबन्धनलाई चुनौती दिँदै नेकपा एमालेले धरानमा यस पटकको स्थानीय निर्वाचनमा मेयरमा बाजी मार्ने तयारी गरिरहेको छ। यो क्रममा धरान उपमहानगरपालिकाको मुख्य पद मेयरका लागि उम्मेदवारको आकाङ्क्षी पनि निकै धेरै देखिएका छन् । एमालेमा अहिले सम्म मेयरका आकंक्षी अहिले वहालवाला उपमेयर मञ्जु भण्डारी, मीनकुमार सुब्बा, पूर्व नगरप्रमुख मनोज मेन्याङ्बो, विजय राई, मोतीराज सुनुवार, नारायण सुबेदी, पदम लिम्बु र किशोरकुमार कार्की गरी ८ जना आकंक्षी देखिएका छन् ।

८ जना आकंक्षी मध्येबाट कसलाई मेयरको उम्मेदवार बनाउँदा कम्युनिस्टको गढ मानिएको धरानमा वामपन्थीको साख फर्काउन सकिन्छ भन्नेमा नेकपा एमाले धरान लागिरहेको छ । यसैगरी नेकपा एमालेबाट उपमेयरमा सविता राई, इन्द्रकला राई, वेणु काफ्ले, लीला राई, लहरु जिमी र सुशीला पहाडी गरी ६ जना आकंक्षी देखिएका छन् । 

एमालेले ०७४ असारको नतिजालाई दोहोर्‍याउदै आफ्नो पुरानो साख फर्काउने चुनावी रणनीति बनाइरहेको छ । धरानको राजनीतिक इतिहासलाई पछाडि फर्केर हेर्दा पहिलो पटक २०१५ सालमा आम निर्वाचन हुँदा काँग्रेसका डिट्ठा ज्ञानचन्द्र सरदारले जितेका थिए । त्यसपछि ०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवारहरू नै लगातार मेयर भएका छन् ।

०४६ सालको जनआन्दोलन पछि संवैधानिक राजतन्त्रको बेलामा २०४८ र २०५४ सालमा भएको निर्वाचनमा वामपन्थी उम्मेदवार नै मेयरमा निर्वाचित भएका थिए । २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले वामपन्थीको जितलाई निरन्तरता दिएका थिए ।

लोकतान्त्रिक गणतन्त्र नेपालमा नयाँ संविधान ०७२ सालमा जारी भएको दुइबर्ष पछि भएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भएका थिए । मेयर तारा सुब्बाको निधन पछि २०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराए । तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत पाएर पराजित भए । 

तर यस पटक यदि नेकपा एमालेले आफ्नो पुरानो साख फर्काउने हो भने र पाँच दलीय गठबन्धनलाई चुनौती दिएर चुनाव जित्नका लागि दह्रो उम्मेदवार खडा गर्नुपर्ने राजनीतिक विश्लेषकहरूको भनाई छ । ८ जना मेयरका आकंक्षी मध्ये कसलाई मेयरको टिकट दिँदा चुनाव जितिन्छ ? भन्नेमा अहिले एमाले जोड घटाउमा लागेको छ । ८ जना मेयरका उम्मेदवार मध्ये पूर्व नगरप्रमुख समेत भइसकेका मनोजकुमार मेन्याङबो एमालेको बलियो उम्मेदवार हुनसक्ने राजनीतिक विश्लेषकहरूको दाबी छ ।

मेन्याङ्बो धरानको बाम राजनीतिमा चिर परिचित राजनीतिक व्यक्ति हुन् । अहिले नेकपा एमालेको प्रदेश सचिवालय सदस्य रहेका मेन्याङ्बो पछिल्लो समय मेयरको बलियो आकंक्षी भनेर फेरि धरानको बाम राजनीतिमा चर्चामा आउन थालेका छन् । २०४९ सालमा उपप्रमुख र, २०५४ सालमा तत्कालीन धरान नगरपालिकाको प्रमुख भइसकेका मेन्याङबोलाई एमालेले मेयरको उम्मेदवार बनाए कम्युनिस्टको साख फर्किन सक्ने आकलन गरिएको छ । 

मेयरका आकंक्षी रहेका मनोजकुमार मेन्याङ्बोले पार्टीले जिम्मेवारी दिए आफू पछि नहट्ने र विगतमा धरान र धरान नगरवासीको समस्या आफूले नजिकबाट बुझेकोले जनताको सेवामा आफू सफल हुन सक्ने दाबी गरे । 

यसैगरी उपमेयरमा ६ जना आकंक्षी मध्येबाट कसलाई एमालेले उम्मेदवार घोषणा गरे जित्न सकिन्छ ? भन्नेमा पनि जोड घटाउ सुरु भएको छ । एमालेको उपमेयरको पदमा जति पनि आकंक्षी छन् सबै महिला छन् । आकंक्षी मध्येबाट विजयी हासिल गर्नका लागि जित्ने उम्मेदवार सविता राईको सम्भावना रहेको बताइन्छ । अहिले यसै भन्न सकिने अवस्थामा नरहेको नेकपा एमाले धरान उपमहानगर कमिटीले बताएको छ। 

नेकपा एमालेले मेयर, उपमेयरको आकंक्षीको नाम केन्द्रमा र वडाध्यक्षहरूको आकंक्षीको नाम प्रदेशमा पठाउन तयारी गरेको छ । केन्द्र र प्रदेशबाट पार्टीले निर्णय गरेर उम्मेदवारको नाम पठाउने नेकपा एमालेका धरान उपमहानगर इन्चार्ज तथा मेयरका आकंक्षी नारायण सुबेदीले बताए । त्यस पछि चुनावी अभियानलाई उम्मेदवारको साथमा अघि बढ्ने बताइएको छ।