धरान : सुनसरीका १२ वटै स्थानीय निकायमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनुका साथै निर्वाचन अधिकृत तोकिएका छन् । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारी अनुसार इनरुवा नगरपालिकामा मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुबेदी, इटहरी उपमहानगरपालिकामा निर्वाचन अधिकृत नारायण रिमाल, धरान उपमहानगरपालिकामा पुष्करराज नेपाल, रामधुनी नगरपालिकामा विजयराज सुबेदी, वराहक्षेत्र नगरपालिकामा रमेश श्रेष्ठ, दुहबी नगरपालिकामा षड कुमार पोखरेललाई तोकिएको छ ।

यसैगरी कोसी गाउँपालिकामा एकराज अधिकारी, गढी गाउँपालिकामा भेषराज भट्टराई, देवानगन्ज गाउँपालिकामा जोरासिंह माझी, बर्जू गाउँपालिकामा कृष्ण पौडेल, भोक्राहानरसिंह गाउँपालिकामा मोहनबहादुर अधिकारी र हरीनगर गाउँपालिकामा मोहनप्रसाद घिमिरेलाई निर्वाचन अधिकृत तोकिएको छ । 

सुनसरी जिल्लाका १२ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिनुका साथै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना भएका छन् । अव सम्पूर्ण निर्वाचन सम्बन्धी काम कारबाही सोही कार्यालयबाट हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीमा ४ हजार ६ सय ४८ जना कर्मचारी निर्वाचन गराउन खटिदैछन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार जिल्लाका ५ सय ८१ मतदान केन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, सहायक कर्मचारी २ जना, सहयोगी कर्मचारी १ जना र स्वयंसेवक ३ जना गरी ८ जना सुरक्षाकर्मी बाहेक निर्वाचन गराउने कर्मचारी खटिनेछन् । 

Nirbachan-adhikrit-nemlist