धरान : धरानमा जारी वडास्तरीय मेयर कप बास्केटबल प्रतियोगितामा धरान-८ र धरान-१५ बिच सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ।
आज सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा धरान-८ ले धरान-१४ पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। धरान-८ ले प्रत्येक क्वाटर १६-८-३३-१४ गरी ७१ अङ्क जोड्दा धरान-१४ ले ६-११-११-८ गरी ३६ अङ्क मात्र जोड्न सफल भएको थियो। व्यक्तिगत ३९ अङ्क स्कोर गर्दै खेलका म्यान अफ द म्याच धरान-८ का दिवस राई घोषित भए। उनले नगद एक हजार र मेडल प्राप्त गरे।
त्यस्तै आजै सम्पन्न भएको दोस्रो खेलमा धरान-१५ ले धरान-१९ लाई पराजित गरेको छ। धरान-१५ ले १७-१२-१६-१७ गरी ६२ अङ्क स्कोर गर्दा धरान-१९ ले ९-१५-१२-१३ गरी ४९ स्कोर गर्न सफल भयो । खेलका म्यान अफ द म्याच धरान-१५ का शिशिर राई घोषित भए। उनले व्यक्तिगत २०अङ्क जोडे। उनले नगद एक हजार र मेडल प्राप्त गरे । 
भोलि पहिलो सेमिफाइनल खेल धरान-८ का विरुद्ध धरान-१५ बिच दिनको ३ बजे देखि हुने आयोजकले जानकारी दिएको छ।