धरान : धरानमा बिहीबार मात्रै चार दलीय गठबन्धन भएको घोषणा भएको सत्तारुढ दलहरूको गठबन्धनबाट शनिवार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । 

चार दलीय गठबन्धनबाट नेपाली काँग्रेसले मेयर सहित वडानं. १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ नम्बर वडाको वडाध्यक्ष लिनेमा सहमति भएको थियो । 

नेकपा माओवादी केन्द्रले उपमेयर सहित वडानं. ३, १५, १७, र २० नम्बर वडाको वडाध्यक्षमा सहमति भएको थियो । त्यसै गरी जनता समाजवादी पार्टीले वडानं. १० र १९ नम्बर वडा र नेकपा एकीकृत समाजवादी पार्टीले ४ नम्बर वडाको वडाध्यक्षमा सहमति भएको थियो । तर चार दलीय गठबन्धनमा जनता समाजवादी पार्टीको सम्मानजनक उपस्थितिको सुनिश्चितता नभएको भन्दै चार दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीका धरान उपमहानगर अध्यक्ष ताजुब लिम्बुले बताए ।

वडाको भागबन्डामा वडानं. ११ र ५ को वडा सदस्यमा कुरा नमिलेको र गठबन्धनमा सम्मानजनक उपस्थितिको सुनिश्चितता नभएकोले हामी चार दलीय गठबन्धनबाट बाहिरिएका हौ र अव धरानमा एक्लै चुनाव लडछौं अध्यक्ष लिम्बुले बताए । 

जसपाले धरानका १५ वडामा उम्मेदवारी दिने 

जनता समाजवादी पार्टीले धरानमा चार दलीय गठबन्धनबाट बाहिरिएसँगै धरान उपमहानगरपालिकाको १५ वटा वडाबाट उम्मेदवारी दिने निर्णय गरेको छ । 

धरान ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १५, १६, १७, १८, १९ र २० नम्बर वडामा उम्मेदवारी दिने अध्यक्ष लिम्बुले बताए । धरान-३ को वडाध्यक्षमा निमा पोङसुवा, धरान-५ मा दिनेश लिम्बू, धरान-६ मा नरबहादुर लिम्बू, धरान-७ मा पर्शुराम मेवाहाङ राई, धरान-८ मा भगिराज चेम्जोङ, धरान-९ मा ऐसा सुनुवार, धरान-१० मा निमा शेर्पा, धरान-११ मा मदन तामाङ, धरान-१२ मा लेखमान लिम्बू, धरान-१५ मा हरि राई, धरान-१८ मा रञ्जन राईलाई वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार बनाउने जसपाले निर्णय गरेको छ ।

बाँकी वडाका वडाध्यक्ष लगायतको उम्मेदवारहरूको आइतबार बिहान बस्ने पार्टीको बैठकले निर्णय गर्ने छ । त्यही बैठकबाट जनता समाजवादी पार्टीबाट धरान उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको पनि टुङ्गो लगाउने जसपा अध्यक्ष लिम्बूले जानकारी दिए । 

धरानका १५ वडा बाहेकका वडामा जसपाको सङ्गठन विस्तार हुन बाँकी रहेकोले ती वडाहरूमा उम्मेदवारी नदिने पनि अध्यक्ष लिम्बूले बताए ।