धरान : धरानमा तीन दलीय गठबन्धनबाट अझै मेयर उपमेयरको टुङ्गो लाग्न सकेको छैन । 

उम्मेदवारको मनोनयन गर्ने समय केही घण्टा मात्रै बाँकी रहँदा सम्म गठबन्धनबाट धरान उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टंगो नलाग्दा कार्यकर्तामा अन्यौलता छाएको छ । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबन्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबिच बिच बैठक बसेको छ । बैठकको निर्णय पछि मात्रै उम्मेदवारको टुङ्गो लाग्ने बताइएको छ । धरानमा मेयर उपमेयरमा मात्रै होइन वडाध्यक्षहरूको समेत उम्मेदवार गठबन्धनबाट अहिले सम्म घोषणा नहुँदा गठबन्धन दलका कार्यकर्ताबाटै गठबन्धनको नेतृत्व माथि प्रश्न उठाउन थालेका छन् । यो समाचार तयार पारुन्जेल गठबन्धनको बैठक प्रदेश स्तरीय बसेर वडाअध्यक्षहरुको नाम निर्णयको तयारीमा पुगेको बताईएको छ । 

निर्वाचनका लागि उम्मेदवार मनोनय गर्ने समय आइसक्दा पनि भागबन्डा नमिलेपछि गठबन्धनमा अहिले तनाव छ ।

निर्वाचन आयोगको कार्य तालिकाअनुसार हिजो र आज उम्मेदवारको मनोनयनको कार्यसूची छ । हिजो नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरूले उम्मेदवारी दर्ता गराए । तर सत्ता गठबन्धन र एमालेमा उम्मेदवारबारे अझै लफडा छ ।

एमालेले अधिकांश स्थानमा उम्मेदवार टुङ्गो लगाए पनि गठबन्धनमा आबद्ध दलबिच अझै भागबन्डामा कुरा मिलेको छैन ।

यसैबिच स्थानीय निर्वाचनको लागी धरान उपमहानगरपालिकाको उपमेयर पदको लागी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट नगर इन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङको बहुमतले नाम सिफारिस गरेको छ ।

पार्टीको धरान नगर समितिले हिजो बैठकले बहुमतको आधारमा लिएको निर्णय अनुसार नगर इन्चार्ज चोत्लुङलाई सिफारिस गरेको हो । तर बहुमतले इन्चार्ज चोत्लुङलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरे पनि अन्य आकाङ्क्षी पछि नहटेको र आफ्नो नाम सिफारिस गर्नै पर्ने माग राखेपछि अन्य आकाङ्क्षीहरूको नाम पनि सिफारिस गरिएको छ । अन्य आकाङ्क्षीहरूमा केन्द्रीय परिषद् सदस्य प्रदेश सदस्य, जिल्ला समन्वय सदस्यहरू र नगरका पदाधिकारी तथा सदस्यहरू छन् ।

उपमेयरको आकाङ्क्षीहरूमा केन्द्रीय परिषद् सदस्य चन्द्र उदास, चन्द्र प्रसाद दत्त, प्रदेश सदस्यमा आइन्द्र विक्रम बेघा, सावित्रा चौलागाई भूमिका, कमला राई, प्रदेश परिषद् सदस्य दिल बहादुर रामदाम छन् । यस्तै गरेर जिल्ला समन्वय समिति सदस्यहरू उत्तर बहादुर लिम्बु र लक्ष्मी प्रधान छन् भने नगर समिति उपाध्यक्ष मनिता राई जाइका, नगर सदस्य चेतना श्रेङ, गङ्गा बराल, ज्योति लिम्बु, सोमा गिरी र भूपाल चाम्लिङ रहेका छन् ।

यसका साथै नगर समितिले नेपाली काँग्रेससँग वडामा भएको गठबन्धन सहमति काँग्रेसले भङ्ग गरेकोले नगरमा पनि एकल प्रतिस्पर्धाको लागी केन्द्रीय समितिलाई माग गरिएको छ । यदि केन्द्रले एकल प्रतिस्पर्धामा जानको लागी निर्णय गरेको खण्डमा नगर समितिले एकल प्रतिस्पर्धाको लागी मेयर पदका लागी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य किरण कुमार राई र उप मेयर पदको लागी प्रदेश सदस्य सावित्रा चौलागाई भूमिकालाई सर्वसम्मत नाम सिफारिस गरिएको छ ।