धरान : ३० वैशाख नजिकिँदै गर्दा धरानमा सत्तारुढ गठबन्धनमा समस्या देखिन थालेको छ । शनिवार गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको थियो भने अन्य ३ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडा सदस्यको सिट बाँडफाँड समेत गरेका थिए । तर एकाएक तीन दलीय गठबन्धनमा फेरि पनि वडामा सहमति हुन नसकेपछि अर्को समस्या देखा परेको छ । 

नेपाली काँग्रेसले मेयरमा, नेकपा माओवादी केन्द्रले उपमेयरमा मात्रै गठबन्धन गर्ने र उपमहानगरका २० वटै वडाहरूमा अध्यक्षदेखि सदस्यसम्म गठबन्धन दलले आ-आफ्नै उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको नेपाली काँग्रेसका धरान उपमहानगर कमिटीका सभापति श्याम पोख्रेलले बताए ।

मेयर र उपमेयरमा भने केन्द्रको गठबन्धन अनुसार नै चुनावी गठबन्धन हुने तर वडामा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय भएको माओवादी केन्द्रका धरान उपमहानगर अध्यक्ष सूर्य भट्टराई (मनोज) ले बताए । उनले भने नेपाली काँग्रेसले एक्लै पनि चुनाव लडेर जित्ने दम्भ देखाएकोले यो सहमतिमा पनि केही ट्वीस आउन सक्नेछ । मेयर र उपमेयरमा सहमति भए पनि काङ्ग्रेसकै कारण धरानमा नेकपा माओवादी केन्द्रले पनि छुट्टै मेयरको उम्मेदवारी सम्म दिन सक्ने भट्टराईले बताए । यसका लागि पनि पार्टीसँग छलफल र पहल भइरहेको उनले बताए ।

माओवादीबाट उपमेयरका आकाङ्क्षीहरूको नाम सिफारिस

नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीले उपमेयर उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ । उपमेयरका आकाङ्क्षीहरूमा नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ), प्रदेश सदस्य आइन्द्रविक्रम बेघा, सावित्रा चौलागाई (भूमिका) नगर सहसंयोजक दिलबहादुर रामदाम, पूर्व केन्द्रीय परिषद् सदस्य चन्द्र उदास लगायतको नाम सिफारिस भएको छ। 

गठबन्धन नरहेको खण्डमा पूर्व सांसद किरणकुमार राईको नेकपा माओवादीबाट मेयरको उम्मेदवारी रहने स्रोतको दाबी छ ।