धरान : धरानमा तीन दलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट मेयरमा किशोर राई र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट आइन्द्र विक्रम बेघालाई अघि सारिएको छ । 
निकै लामो रस्साकस्सी पछि उम्मेदवारी दर्ता गर्ने समयमा गठबन्धनले धरानको मेयरमा किशोर राईलाई उम्मेदवारी दिएको हो । राई नेपाली कांग्रेसमा निकै सक्रिय रहनुका साथै धरानको खेलकुद क्षेत्रमा निकै सक्रिय रहेर काम गर्दै आएका छन् । राई अघिल्लो पटक मेयरमा लड्न खोजेका थिए । उनी गत असोजमा भएको काँग्रेस धरानको पार्टी सभापतिमा श्याम पोखरेलसँग ३९ मतले पराजित भएका थिए ।
२०७४ मङ्सिरमा भएको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र नम्बर १ (क) मा उनी एमालेका प्रदीप भण्डारीसँग ५ हजार ७३ मतले पराजित भएका थिए ।
उम्मेदवारीको अन्तिम दिन माओवादी केन्द्रले आइन्द्र विक्रम बेघालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी २०७४ को निर्वाचनमा पनि माओवादी केन्द्रबाट मेयरमा उठेका थिए ।